भैरहवा । रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीका अध्यक्षले वृक्षरोपण गरेर आफ्नो कार्यकालको सुरुवात गरेका छन ।
वर्ष २०२१/२२ का अध्यक्ष डा. शत्तदल चौधरीले आफ्नो कार्यकालको पहिलो दिन पहिलो कार्यक्रम अन्तर्गत भैरहवा बुटवल सडकखण्डको आंखा अस्पताल क्षेत्रमा वृक्षारोपण गरी कार्यकालको सुरुवात गरेका हुन ।
क्लबले बिहीबार बिहान सिद्धार्थनगर नगरपालिका–३ स्थित उक्त क्षेत्रमा सडकको ग्रिनरी जोन मा विभिन्न प्रजातिको विरुवाहरु रोपण गरेको हो । क्लबका सदस्य गंगाधर भण्डारीको संयोजकत्वमा भएको उक्त कार्यक्रममा १५० वटा विरुवा रोपिएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्री रण अम्बिका शाह आंखा अस्पताल भैरहवाका प्रमुख मेडिकल निर्देशक प्रा.डा. ज्ञानेन्द्र लामिछानेले वृक्षारोपले वातावरण संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनले रोपिएका विरुवाहरु संरक्षणमा पनि ध्यान दिनुपर्ने आवश्यकता रहेको बताए ।
स्वास्थ्य क्षेत्रमा क्रियाशिल रहेका अध्यक्ष चौधरीले वातावरणीय सुधारकालागि पनि बृक्षारोपण अपरिहार्य रहेकोले सामाजिक क्रियाकलाप अन्तर्गत वातावरणीय कार्य गरेको बताए । मानवीय क्रियाकलापले नै पर्यावरणमा असर पुग्दै गएको त्यस्को सुधारका लागि पनि बृक्षारोपण गर्नुपर्ने उनले बताए ।
संस्थाले यस अघि पनि वृक्षारोपण गरेर थुप्रै विरुवा हुर्काउन सफल भएकोले विरुवा रोपनु भन्दा पनि संरक्षणमा पनि क्लबले निरन्तरता दिइरहेको क्लबका संस्थापक अध्यक्ष बिमल सेञ्चुरीले बताए ।

क्लबले हालै मात्रै कोरोना महामारीमा भैरहवामा फुड बैंक स्थापना गरी निषेधाज्ञामा लगातार ३६ दिन ६३२ परिवारलाई खाद्यान्न प्रदान गरेको थियो, क्लबले विशेष गरी दैनिक ज्यालादारी गरेर बिहान सांझको छाक टार्ने विपन्न परिवार तथा मजदूरलाई रोग भन्दा भोकले नमरुन भन्दै फुडबैंक स्थापना गरी सामाजिक सेवामा गरेको क्लबका संस्थापक अध्यक्ष सेञ्चुरीले बताए ।
रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीका सचिव कृष्ण अधिकारीको सञ्चालनमा भएको कार्यक्रममा रोटरी जोन २८ का एजी देवी गुरुङ, क्लबका निवर्तमान अध्यक्ष हिरा बहादुर शाह, पूर्व अध्यक्ष तथा जोन २५ का एजी कृष्ण पाण्डे, रोट्रयाक्ट क्लब अफ सेन्ट्रल बुद्धल्याण्डका अध्यक्ष दिक्षा सुनार लगायतले वृक्षारोपण गरेका थिए ।