निषेधाज्ञाका कारण नेपाल भित्रिने विदेशी पर्यटकको संख्यामा कमी आएको छ । कोभिड–१९ सङ्क्रमणका कारण जारी निषेधाज्ञाले उडान समेत प्रतिबन्ध हुंदा नेपाल भित्रने विदेशीको संख्या घटेको हो । अध्यागमन विभागका अनुसार जुनमा नेपाल भित्रिनेको विदेशी पर्यटकको संख्या एक हजार १४३ मात्र रहेको छ ।
अघिल्लो मे महिनामा नेपाल भित्रिने विदेशीको संख्या एक हजार ४६८ थियो । त्यसअघि प्रतिबन्धको अवस्था नहुंदा मार्चमा भने करीब १५ हजार विदेशी नेपाल भित्रिएका थिए ।
अध्यागमनले सार्वजनिक गरेको यो तथ्याङ्क त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र नेपाल प्रवेश गर्ने विदेशीको संख्या हो । कोभिडको दोस्रो लहरपछि सरकारले स्थल मार्गबाट विदेशीलाई नेपाल प्रवेश निषेध गर्दै आएको छ ।
जुनमा नेपाल भित्रिनेमा सबैभन्दा धेरै भारतीय छन् । विभागका अनुसार उक्त महिनामा ३५९ जना भारतीय नेपाल प्रवेश गरेका छन् । त्यसपछि संयुक्त राज्य अमेरिकाबाट २६६ जना प्रवेश गरेको तथ्याङ्क छ ।
बेलायतबाट ५७ जना, चीनबाट ३८ जना नेपाल आएको विभागले जनाएको छ । त्यसपछि दक्षिण कोरियाबाट ३२ जना नेपाल आएका छन् । नेपाल भित्रिनेमा विशेष गरी विदेशी कूटनीतिक नियोगका कर्मचारी, प्रतिनिधि तथा विभिन्न अन्तर्राष्ट्रिय सङ्घसङ्गठनका कर्मचारी तथा प्रतिनिधि रहेका छन् ।