भैरहवा । नीजि तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) रुपन्देहीले विद्यालय सञ्चालनको वातावरण मिलाईदिन भन्दै रुपन्देही प्रशासनसंग अनुरोध गरेको छ । लामो समयको लकडाउनले शैक्षिक क्षेत्र अस्तव्यस्त भएको र विद्यार्थीहरुमा नकारात्मक मनोसामाजिक असर परेको भन्दै विद्यालय आउने–जाने वातावरण सहज गराइदिन रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङसमक्ष अनुरोध गरेको हो।
प्याब्सन रुपन्देहीका अध्यक्ष लेखनाथ पौडेलको नेतृत्वमा गएको टोलीले अनलाइन वा वैकल्पिक कक्षाले विद्यार्थीको शिक्षण सिकाइ त्यति प्रभावकारी नभएको, कोरोना संक्रमण दर न्यून हुंदै गएको र सबै क्षेत्र खुल्दै गएको भन्दै भौतिक रुपमै आलो–पालो भए पनि विद्यार्थीलाई विद्यालय आउने–जाने वातावरण बनाउन आग्रह गरेको हो ।
प्रजिअ आस्मान तामाङसमक्ष बुझाइएको चारबुंदे अनुरोध पत्रमा जिल्लाको भौगोलिक परिवेश अनुसार इन्टरनेटको उपलब्धता कमजोर भएको र अभिभावकहरुसंग स्मार्ट फोन, मोवाइल, ल्याप्टप आदि न्यून भएका कारणले बैकल्पिक माध्यमबाट अनलाइन कक्षा सञ्चालनको प्रयास त्यति प्रभावकारी र उपलब्धिमूलक नदेखिएको दावी गरिएको छ ।
अनुरोधपत्रमा आफ्ना शिक्षक–कर्मचारीहरुलाई कोरोनाविरुद्धको खोप यथाशीघ्र उपलब्ध गराउन समेत माग गरिएको छ ।
सेनेटरी प्याड, सेनेटाइजर, माक्स आदि सामग्री उपलब्ध गराउंदा संस्थागत र सामुदायिक विद्यालयबीच विभेद नगर्न र संंस्थागत विद्यालयमा कार्यरत शिक्षक–कर्मचारीहरुको जीवनयापन कठिन बन्दै गएकोले राहतको ब्यवस्था गरिदिनसमेत अनुरोध गरिएको छ ।
प्याब्सनका सचिव लक्ष्मण ज्ञवालीका अनुसार अनुरोध पत्र ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले प्याब्सनका अनुरोधप्रति आफू सकारात्मक रहेको र कोरोना संक्रमण दर घट्दै गए विस्तारै सबै क्षेत्र सहज हुंदै जाने बताए