भैरहवा । रुपन्देहीमा कोरोनाको संक्रमणमा वृद्धि भएको छ । मंगलबार २० जना संक्रमण मुक्त हुंदा ३३ जना नयां संक्रमित थपिएका छन । जिल्ला भरी १२० जनाको आरटी पिसिआरबाट परिक्षण गर्दा २७ दशमलव ५ प्रतिशत अर्थात ३३ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा जिल्लाका ९ वटा पालिकाका १६ महिला र १७ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहका अनुसार थपिएका संक्रमित मध्ये सबै भन्दा बढी बुटवल उपमहानगरपािलकामा ५ महिला सहित १० जना रहेका छन । त्यस्तै तिलोत्तमा र देवदहमा ७–७ जना, सिद्धार्थनगरमा ३ जना, कञ्चनमा २, सैनामैना, ओमसतिया, मायादेवी र सियारीमा १–१ जना संक्रमित थपिएको कोभिड फोकल पर्सन समेत रहेका शाहले बताए । आज जिल्लामा मृत्यु हुनेको संख्या शुन्य छ ।
कार्यालयका अनुसार हाल सक्रिय संक्रमित ३ सय ४१ पुगेको छ । जस मध्ये ५९ जनामा लक्षण देखिएकोले अस्पतालमा उपचाररत छन भने बाकी २ सय ८२ जना होम आइसोलेशनमा रहेका छन ।