भारतीय वरिष्ठ अभिनेता दिलीप कुमारको निधन भएको छ । केही दिनयता बिरामी परेका दिलीप कुमारको ९८ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अाज बिहान ७ः३० बजे मुम्बईको खार हिन्दुजा अस्पतालमा उनकाे निधन भएको अस्पताल प्रशासनले जानकारी दिएकाे छ ।
११ डिसेम्बर १९२२ मा तत्कालीन ब्रिटिश इण्डियाको पेशावर (हाल पाकिस्तान) मा जन्मिएका दिलीप कुमारको वास्तविक नाम मोहम्मद युसुफ खान थियो । करिब २२ वर्षको उमेरमा उनले फिल्ममा काम सुरु गरेका थिए । उनले करिब पाँच दशकको करियरमा ६० वटा जति फिल्ममा काम गरेका छन ।
श्वासप्रश्वासमा समस्या भएपछि दिलीप कुमारलाई गएको जुन ६ तारिखमा अस्पताल भर्ना गरिएको थियो । बलिउडका ‘ट्रयाजेडी किङ्ग’ भनेर चिनिने उहाँ पाँच दशकसम्म चलचित्र क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो । उहाँको ‘देवदास’, ‘नयाँ दौर’, ‘राम और श्याम’ लगायत चलचित्रमा अभिनय गर्नुभएको छ ।