बुटवल । चुनढुंगा बोकेकोे टिप्पर नदीमा खस्दा एकजनाको ज्यान गएको छ । खानीबाट चुनढुंगा बोकेर बुटवलतर्फ आउदै गरेको उक्त टिप्पर पाल्पाको चरचरेमा दुर्घटानामा परेको हो ।
सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडकखण्ड अन्तर्गत तिनाउ गाउंपालिका वडा नं. ५ चरचरे कालिमाटीमा बुधबार विहान उक्त टिप्पर दुर्घटनामा पर्दा टिप्पर चालक पाल्पाको पुर्वखोला गाउंपालिका वडा नं. ५ विरकोट बस्ने ३६ वर्षिय सुदिप गैरेको मृत्यु भएको हो । उपचारका लागि अस्पताल लैजादै गर्दा उनको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।
लु २ ख ८२० नं. को उक्त टिप्पर सडकबाट १५० मिटर तल तिनाउ नदिमा खसेको थियो । टिप्पर तिनाउ नदिमा खसेर अगाडीको भाग पुरै डुबेको अवस्थामा छ, गम्भिर घाईते अवस्थामा भेटएका चालक गैरेलाई पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको लागि पठाईएकोमा अस्पताल पुर्याउदा चिकित्सकले मृत घोषणा गरेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए । चालकसंग सहचालक वा अन्य कोही थिए या थिएनन भन्ने खुलेको छैन ।