भैरहवा । रुपन्देहीको सैनामैनामा विद्युतीय गाडी एसेम्ब्ली (पार्टपुर्जा ल्याएर गाडी बनाउने) कार्यका लागि जग्गाको लिज सम्झौता भएको छ ।
नगरपालिकाको १० बिघा जग्गामा विद्युतीय गाडी एसेम्बल उद्योग स्थापनाको लागि सुन्दर अटो इन्जिनियरिङ प्रालिलाई लिजमा दिने गरी २५ वर्षको सम्झौता भएको हो । सो जग्गामा एसेम्बल प्लान्ट निर्माण गरिने छ ।
नेपालमा विद्युतीय बस सञ्चालन गरिरहेको सुन्दर यातायातले चीनको सिचुवान गुहोङ अटोमोबाइल (बीएके) र दुवईको सेख अटोसँग सहकार्य गरी एसेम्बल प्लान्ट स्थापना गर्नलागेको हो ।
सुन्दर इन्जिनियरिङका अध्यक्ष भेष बहादुर थापाले मुख्य लगानी चिनियाँ र दुवईको कम्पनीले गर्ने बताए । ‘सैनामैना नगरपालिकासँग जग्गा सम्झौता गरी पहिलो खुट्किलो पार गरेका छौँ’, थापाले भने, ‘दुई हप्ताभित्रै चिनियाँ र दुवईका लगानीकर्तामार्फत शिलान्यास गरेसँगै अर्को खुट्किलो पार गर्छौँ।’
सुन्दर अटो इन्जिनियरिङले जग्गा लिजमा प्रयोग गरेबापत वार्षिक छ लाख रुपैयाँ नगरपालिकालाई भाडाबापत प्रदान गर्ने, नाफाको १ प्रतिशत नगरपालिकालाई दिने र वर्षमा एक जना विद्यार्थीलाई अटो इन्जिनियरिङ पढाउने सहमति भएको छ ।
उक्त प्लान्टको लागि पहिलो चरणमा करिब साढे ३ अर्ब लगानी हुँदै छ । सुन्दर अटो इन्जिनियरिङको भने थोरै मात्र लगानी रहेको कम्पनीले जनाएको छ ।
‘भौतिक संरचनामा ५० प्रतिशत हाम्रो लगानीमा हुन्छ । उनीहरुको प्राविधिकलाई बस्ने घरको निर्माण र बजारीकरणमा हाम्रो लगानी हुन्छ’, अध्यक्ष थापाले भने ।
भौतिक संरचना निर्माण भइसकेपछि ४७ प्रतिशत चीनको बीएके र ४६ प्रतिशत दुवई शेख अटो ग्रुपको लगानी हुनेछ ।
बाँकी ७ प्रतिशत सुन्दर अटो इन्जिनियरिङले व्यहोर्नेछ।अहिले भौतिक संरचना निर्माण तथा १०० वटा बस निर्माणको लागि पहिलो चरणमा ३ अर्ब ६० करोड लगानी हुँदै छ। दोस्रो चरणमा बजार मूल्यांकन गरेर थप २ अर्ब ४० करोड लगानी थप गर्ने योजना छ ।
‘दुवईको कम्पनीको २ अर्ब ४० करोड लगानी हुन्छ भने अर्को चाइना बीएके कम्पनीको ३ अर्ब ६० करोड लगानी हुन्छ’, थापाले भने, ‘नेपाली बजारमा माग बढ्दै जाँदा तेस्रो चरणमा ६ अर्बबाट ८ देखि ९ अर्ब पु¥याउने लक्ष्य रहेको छ ।’
बीएकेले चाइनामा विद्युतीय गाडीसँगै ब्याट्री पनि आफैँ उत्पादन गर्दै छ । दुवईको शेख कम्पनीबाट बसको टायर, एसीसम्बन्धी सामग्री, बसमा प्रयोग हुने सिसा लगायतको सामग्री ल्याउँछ ।
नेपालमा एसेम्बल भएका गाडीमा चाइनाको बीएके ब्रान्डकै लोगो हुन्छ। लोगोभन्दा तल त्यसमा नेपाली नामकरण हुन्छ ।
एसेम्बल प्लान्टबाट १०.५ मिटरका ३० युनिट बस, ९.५ मिटरको २० युनिट जान्छ, ८.५ को २० युनिट र १२ मिटरको २० युनिट बस उत्पादन हुनेछ ।
शेख अटो कम्पनी नेपालमा सुन्दर यातायातसँगको सहकार्यमा सार्वजनिक यातायात सञ्चालन गर्ने व्यावसायिक सम्झौता भएको थापाले बताए ।