काठमाडौं । कोरोना भाइरस विरुद्धको भेरोसेल खोप ल्याउनको लागि नेपाल वायु सेवा निगमको जहाज आज चीन जाँदैछ । बेलुकी चीन जाने निगमको वाइडबडी जहाजले भोलि खोप नेपाल ल्याउने कार्यतालिका छ । आजदेखि साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप ल्याउन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सरकारले चीनको सिनोफार्म कम्पनीबाट भेरोसेल खोप खरिद गर्न लागेको हो । खोप नेपाल आइसकेपछि ६० वर्षमुनि उमेर समूहकालाई प्राथमिकताका आधारमा लगाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै कोभ्याक्स सुविधामार्फत आउने खोप पनि छिट्टै खोप ल्याउने मन्त्रालयले जनाएको छ ।
यसअघि कोभ्याक्समार्फत तीन लाख ४८ हजार मात्र खोप आएको थियो । नेपालमा अहिलेसम्म ४२ लाख ४८ हजार खोप आएको छ । नेपालमा १८ वर्षभन्दा माथिका कुल दुई करोड २० लाख जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य लिइएको छ । अहिलेसम्म आठ लाख ५१ हजार ३०० जनालाई दोस्रो मात्रा र २६ लाख ११ हजार ८०७ जनालाई पहिलो मात्राको खोप लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
जोनसन एन्ड जोनसनको १५ लाख डोज खोप आउने
नेपालले कोभ्याक्स सुविधा अन्तर्गत अमेरिकी कम्पनी जोनसन एन्ड जोनसनको कोभिड–१९ कोरोना भाइरसविरुद्धको खोप पाउने विषय अन्तिम चरणमा पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालले जोनसन एन्ड जोनसनको १५ लाख डोज खोप पाउने विषय लगभग टुङ्गोमा पुगेको हो ।
‘ठ्याक्कै संख्या र मिति टुङ्गो लागेको छैन तर कोभ्याक्स सुविधा अन्तर्गत जोनसन एन्ड जोनसन कम्पनीको खोप चाँडै आउने सम्भावना छ’, मन्त्रालयका प्रवक्ता डाक्टर कृष्णप्रसाद पौडेलले भने ।
कोभ्याक्स सुविधा अन्तर्गत नेपालले कुल जनसंख्याको २० प्रतिशत अर्थात् ६० लाख जनालाई पुग्ने खोप पाउनुपर्ने माग गर्दै आएको छ । तर यो सुविधा अन्तर्गत अहिलेसम्म जम्मा तीन लाख ४८ हजार डोज मात्रै नेपालले पाएको छ । थप खोप उपलब्ध गराउन नेपालले विभिन्न अन्तर्राष्ट्रिय निकायसँग आग्रह गरिरहेको छ ।
यो खोप आउने सम्भावना बढेपछि मन्त्रालयले जोनसन एन्ड जोनसन कम्पनीको खोपलाई अनुमति प्रदान गर्न औषधि व्यवस्था विभागलाई पत्राचार पनि गरेको छ । विश्व स्वास्थ्य सङ्गठनले यो खोपलाई अनुमति दिएकाले औषधि व्यवस्था विभागले धेरै प्रक्रिया पूरा गर्नु नपर्ने पनि प्रवक्ताले बताए ।