भैरहवा । रुपन्देहीमा जारी निषेधाज्ञा अवज्ञा गरी पसल संचालन गरेको भन्दै जिल्ला प्रहरी कार्यालयले दर्जन बढीलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रशासन कार्यालयले सांझ ६ बजे सम्म पसल संचालन गर्ने आदेश जारी गरेपनि आदेशलाई उल्लंघन गर्दै पसल संचालन गरीरहेका १४ जना पसलका संचालक तथा कर्मचारीलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालयले बैशाख १६ गते देखि जारी गरेको निषेधाज्ञा कार्यान्वयनका लागि सक्रियाता देखाउदै आएको छ । पछिल्लो समय निषेधाज्ञा खुकुलो गर्दै आर्थिक गतिविधिलाई चलायमान बनाउन निश्चित समय सम्म तोकिएका पसल संचालन गर्ने व्यवस्था छ ।
तर जारी निषेधाज्ञालाई लत्याउदै केही पसल संचालकहरुले पसल बन्द नगरी सेवा प्रदान गरिरहेकोले पटक पटक चेतावनी दिदा समेत कार्यान्वयन नगरेको पाइएकोले आज एक्शन लिनु परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक सत्य नारायण थापाले जानकारी दिए ।
६ बजे पसल बन्द गर्नुपर्ने भएपनि अबेर सम्म पसल खोलेको पाइएकोले पहिलो पटक गल्लामण्डी, एयरर्पोट, मेनरोड, नारायण पथ विद्रोही चोक लगायतका स्थानबाट नियन्त्रणमा लिएको हो । उनीहरुलाई सम्झाई बुझाई केही समय होल्ड गरी छाडिएको डिएसपी थापाले जानकारी दिए ।
आदेश विपरितका क्रियाकलापहरु संचालन गर्ने गराउनेलाई कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ मा जरिवाना र कैद सम्मको व्यवस्था छ ।