Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

८ लाख डोज कोरोना भाइरस विरुद्धको खोप आयो


  • लुम्बिनी चिन्तन
  • आषाढ २५, २०७८ शुक्रवार
  • 1.0K
    SHARES

८ लाख डोज कोरोना भाइरस विरुद्धको खोप आयो

नेपालले चीनसँग खरिद गरेको कोरोना भाइरस विरुद्धको ४० लाख मात्रा खोप मध्ये पहिलो खेपमा ८ लाख डोज खोप शुक्रवार आइपुगेको छ। बिहीवार नेपालबाट उडेको नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले आज बिहान भेरोसेल खोप ल्याएको हो।

यो खोप नेपाल सरकारले चीनको सिनोफार्म कम्पनीसँग खरिद गरेको हो । उक्त कम्पनीसँग ४० लाख डोज खोप खरिदको सम्झौता भएको छ । खोप ल्याउने जिम्मा पाएको निगमले भाडाबापत सरकारसँग प्रतिघण्टा १४ हजार डलर हाराहारीका दरले भाडा लिने छ ।

निगमको वाइडबडी विमान अब असार ३१ र साउन ७ मा बाँकी खोप ल्याउन बेइजिङ जाने तालिका छ । चीन जानुअघि निगमको वाइडबडीले बिहीबार बिहान इजरायलबाट करिब १८ टन स्वास्थ्य सामग्री चार्टर गरेर काठमाडौं ल्याएको थियो ।

चीनबाट खरिद गरी ल्याइएको खोप ५५ देखि ६२ वर्ष उमेर समूहका नागरिकलाई लगाउने सरकारको तयारी छ । यसअघि ६२ वर्षभन्दा माथिल्लो उमेर समूहलाई भारतबाट आएको कोभिसिल्ड र चीनको भेरोसेल खोप लगाइएको थियो ।

आज ८ लाख डोज खोप आइपुगेको र अब निरन्तर खोप आउने स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमले जानकारी दिए । आजदेखि साउन ८ गतेसम्म  तीन वटा उडानमार्फत खोप ल्याउन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

चीन सरकारले अनुदानमा दिएको १० लाख डोज खोप काठमाडौं उपत्यकामा ६० वर्षमाथिका र बाहिरी जिल्लामा ६२ भन्दामाथिका नागरिकलाई लगाइ सकिएको छ । हिमाली जिल्ला र काठमाडौं उपत्यकामा १८ वर्षमाथिका केहीले पनि खोप लगाएका छन् ।

५५ वर्षमाथिका ३७ लाखमध्ये करिब १७ लाखलाई खोप लगाइसकेको विभागले जनाएको छ । नेपालमा अहिलेसम्म ४२ लाख ४८ हजार खोप आएको छ । नेपालमा १८ वर्षभन्दा माथिका कुल दुई करोड २० लाख जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य लिइएको छ । अहिलेसम्म आठ लाख ५१ हजार ३ सय जनालाई दोस्रो मात्रा र २६ लाख ११ हजार ८ सय ७  जनालाई पहिलो मात्राको खोप लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # कोरोनाविरुद्धको खोप

  • लुम्बिनी चिन्तन

    थप समाचार