Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

४ वर्ष बित्दा पनि सम्पन्न हुन सकेन नगरका १९ वटा सडक


  • लुम्बिनी चिन्तन
  • आषाढ २५, २०७८ शुक्रवार
  • 2.7K
    SHARES

४ वर्ष बित्दा पनि सम्पन्न हुन सकेन नगरका १९ वटा सडक

भैरहवा । असार महिना योजना र विकासे कामको सिजनको महिना हो । जस्तोसुकै परिस्थिति भएपनि यो महिनामा विकासको कामले गति लिन्छ तर रुपन्देहीको सिद्धार्थनगरमा ४ वर्ष अघि सुरु भएको सडक निर्माण अझै पनि सम्पन्न हुन सकेको छैन ।

संघीय आयोजना कार्यान्वयन इकाई अन्तर्गत सघन सहरी विकास कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाले नगरभित्रका १९ वटा सडक विस्तार तथा स्तरोन्तीका लागि छनोट गरेपनि चार वर्ष बितिसक्दा समेत  कुनै पनि सडक पूर्ण रुपले सम्पन्न हुन सकेको छैन ।

संघीय आयोजना कार्यान्वयन इकाई कार्यालयले निर्माण कम्पनी पप्पु कोसी एण्ड न्यौपाने शिवशक्ति जेभीसंग २०७४ साल असार २९ गते सिद्धार्थनगर नगरपालिका अन्तर्गत रहेका १९ वटा सडक १८ महिनामा सम्पन्न गर्ने गरी स्तरोन्नती र निर्माणको सम्झौता गरेको थियो । २०७५ पुस २८ गते सम्पन्न गर्ने गरी निर्माण कम्पनीले सम्झौता गरेपनि ४ वर्ष बित्दा समेत ती कामहरु सम्पन्न नहुंदा स्थानीयले सास्ती खेप्नु परेको छ ।

sadak (1).jpg

निर्माण कम्पनीले हाल सम्म आएर ३ पटक म्याद थप गरि निर्माणको काम अलपत्र पारेको छ, विभिन्न बहानामा कार्यालयले निर्माण कम्पनीको निवेदनको आधारमा म्याद थपिदै जांदा यि सडक कहिले निर्माण सकिएर सम्पन्न हुने हो भन्ने अनिश्चित बनेको छ । कार्यालयले निर्माण कम्पनीलाई १५ महिना, ९ महिना , ६ महिना गरी ३ पटक म्याद थप गरेको छ भने काम सम्पन्न हुन नसकेको भन्दै चौथोपटक थप ६ महिनाको म्याद थपको निवेदन आएको जानकारी दिएको छ । १८ महिनामा सम्पन्न हुनु पर्ने काम थप ३० महिना म्याद थप हुंदा पनि कुनै पनि सडक पूर्ण रुपमा सम्पन्न भएको छैन ।

कार्यालयका अनुसार कुल १९ वटा सडक मध्ये २ वटा सडक मापदण्ड नपुगेकोले रद्द भएको छ भने बांकी १७ वटा सडक निर्माणकै क्रममा छन ।

५५ करोड ७१ लाख लागत अनुमानमा ठेक्का भएको उक्त सडक ३३ करोड ३१ लाखमा सम्पन्न गर्ने जिम्मा निर्माण कम्पनीले लिएको थियो । १७ प्रतिशत कम मुल्यमा ठेक्का लिएको कम्पनीले अहिले सम्म कागजी रुपमा ९० प्रतिशत भौतिक प्रगति गरेको छ । कुनै पनि सडक पूर्ण रुपले सम्पन्न गर्न नसकेको कम्पनीले भने २६ करोड बढी अर्थात ८३ प्रतिशत रकम लगिसकेको कार्यालयको तथ्याङकमा छ ।

कालो पत्रे र ढलाई सहितको उक्त निर्माण हुने सडक कही नाला बनाएर छाडिएको छ भने कतै निर्माण सामाग्री र मेसिन थुपारेर अलपत्र परिएको छ । पर्यवेक्षण र ताकेता गर्ने काम सिद्धार्थनगर नगरपालिकाको रहेपनि हाल सम्म निर्माण सम्पन्न हुन नसकेको कामबारे चासो दिएको भने देखिदैन ।

आयोजना कार्यालयका सूचना अधिकारी धु्रव पौडेल खत्रीका अनुसार ८ वटा सडक भौतिक रुपमा करीब सम्पन्न भएपनि पूर्ण रुपमा सम्पन्न हुन सकेको छैनन् । २ वटा बाटो निर्माण रद्द भएको छ भने बांकी ९ वटा मध्ये एक वटा सडकको काम नै सुरुवात भएको छैन । ८ वटा सडक मध्ये केही साइड उपलब्ध नभएर रोकिएको छ भने अधिकांंश सडक निर्माण कम्पनीले काम नगरिदिंदा रोकिएको हो ।

हामीले पटक पटक तोकता गर्ने, छलफल गर्ने, पत्र पठाउने काम गरेपनि निर्माण कम्पनीले विविध कारण देखाउदै म्याद थपको माग गर्दै आएको छ, अहिले चौथो पटक कोभिड र साइड उपलब्ध नभएको भन्दै ६ महिनाका लागि म्याद थपको निवेदन दिएको सूचना अधिकारी खत्रीले भने ।

sadak (4).jpg

सिद्धार्थ हाइवेसंग जोडिएको सडक पंचपथ पर्खाल  र घर भत्काएको २ वर्ष बढी हुंदा समेत अधुरो नाला बनाएर जोडिएको छ, सडकमा पानी जमेर घास उम्रिएको  छ भने विच सडकमा निर्माण सामाग्री र मिक्चर मेसिन राखेर सडक अवरुद्ध गरिएको छ ।

निर्माण कम्पनीका प्रतिनिधि तथा साइट इन्चार्ज श्याम अधिकारीले अबको ६ महिनाभित्र काम सम्पन्न गर्ने बताए । कोभिड र स्थानीयको अवरोधका कारण काम समयमा सम्पन्न हुन नसकेको हो, वर्षाको सिजन समय भन्दा अगाडि नै आएकोले काम गर्न कठिनाई भएको हो । हामीले जनप्रतिनिधिहरुको समन्वयमा सृजित समस्या समाधान गर्दै काम सम्पन्न गर्छौ । उनले भने ।

निर्माण कम्पनी सामूहिक रहेपनि निर्माणको काम शिवशक्ति कन्सट्रक्शनले गर्ने हो । स्रोतका अनुसार एकै पटक धेरै ठाउंमा न्युनतम् मुल्य राखेर ठेक्का लिनु, आवश्यक जनशक्ति भन्दा न्यून कामदार राख्नु जनशक्ति अभाव र कोभिडका कारण पनि काम गर्न समस्या भएको बुझिएको छ ।


लुम्बिनी चिन्तन

थप समाचार