Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

आन्तरिक हवाई उडान पूर्णरूपमा सञ्चालन हुने, हप्तामा ५३ अन्तर्राष्ट्रिय उडान


  • लुम्बिनी चिन्तन
  • आषाढ २६, २०७८ शनिवार
  • 2.2K
    SHARES

आन्तरिक हवाई उडान पूर्णरूपमा सञ्चालन हुने, हप्तामा ५३ अन्तर्राष्ट्रिय उडान

आन्तरिक हवाई उडान पूर्णरूपमा सञ्चालन हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्दै आन्तरिक उडान पूर्णरूपमा सञ्चालन गर्ने अनुमति दिएको हो । 

क्यानको अनुमति अनुरूप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सम्बन्धित एयरलाइन्सलाई परिपत्र गरी स्वास्थ्य सावधानीका साथ उडान सञ्चालनको तालिका निर्धारण गर्ने क्यानका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

वायु सेवा सञ्चालकको छाता सङ्गठन नेपाल वायु सेवा सञ्चालक सङ्घले यात्रु उद्धार सहज र सस्तोका लागि उडान सङ्ख्या थप्न सरकारसँग माग गर्दै आएको थियो । यसअघि कोरोना महामारीको जोखिमका कारण उडान सङ्ख्याको ५० प्रतिशत मात्र उडान सञ्चालन गर्न अनुमति दिइएको थियो ।

यही असार १७ देखि आन्तरिक उडान सुरु भएको थियो । यस्तै अन्तर्राष्ट्रिय उडान हप्तामा ५३ वटा हुने भएको छ । क्यानका प्रवक्ता क्षेत्रीका अनुसार अब हप्तामा कुल ५३ वटा उडान गर्ने गरी विभिन्न देशका गन्तव्यमा उडान तालिका तय गरिएको छ ।

त्यस्तै सरकारले अन्तर्राष्ट्रिय नियमित उडान सञ्चालन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय उडान सङ्ख्या थप गरी नयाँ तालिका नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण क्यान लाई पठाएको छ ।

क्यानका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार अब हप्तामा कुल ५३ उडान सञ्चालन गर्ने गरी विभिन्न देशका गन्तव्यमा उडान तालिका तय गरिएको छ । सरकारले अन्तर्राष्ट्रिय उडानतर्फ उडान सङ्ख्या थप गर्दै यसअघि उडान खुला गरेका गन्तव्यमा भारतबाहेकका देशमा हुने उडान सङ्ख्या थप गर्ने निर्णय गरेको जनाइएको छ । नयाँ तालिकाअनुसार भारतको राजधानी नयाँ दिल्लीमा हप्तमा दुई उडान सम्बन्धित देशका राष्ट्रिय ध्वजावाहकले गर्नेछन् । नेपाल वायु सेवा निगम नेपाल एअरलाइन्सले बुधवार र एअर इन्डियाले सोमवार गर्नेछन् ।

यस्तै नेपाल एअरलाइन्सले यूएईको दुबईमा मङ्गलवार र बिहीवार तथा नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने निजी क्षेत्रको हिमालय एअरलाइन्सले आइतवार, मङ्गलवार र बिहीवार उडान भर्नेछन् । फ्लाई दुबइले आइतवार, बुधवार र शुक्रवार एकरएक उडान गर्नेछन् ।

क्यानको उडान तालिकाअनुसार कतारको दोहामा नेपाल एअरलाइन्स र कतार एअरवेजले हरेक दिन उडान गर्नेछन् भने हिमालय एअरलाइन्सलाई हप्ताको सोमवार, बुधवार र शनिवार उडान अनुमति दिइएको छ । ती एअरलाइन्सले साउदी अरेबियाको दमाममा हप्ताको चार दिन आइतवार, सोमवार, बुधवार र शुक्रवार उडान गर्नेछन् । नेपाल एअरलाइन्सले मलेसियाको क्वालालाम्पुरमा बुधवार र शनिवार हप्तमा दुई उडान पाएको छ । त्यस्तै हिमालय एअरलाइन्सले बिहीवार, शुक्रवार र शनिवार क्वालालाम्पुर उडानको अनुमति पाएको छ । टर्किस एअरलाइन्सले टर्कीको इस्तानबुलमा सोमवार, बिहीवार र शनिवार उडान गर्नेछ ।

जजिरा एअरवेजले कुवेतमा हप्ताको पाँच दिन सोमवार, मङ्गलवार, बुधवार, बिहीवार र शनिवार उडान गर्नेछ । सलाम एअरले ओमानको मस्कटमा हप्तामा तीन दिन सोमवार, बुधवार र शनिवार उडान गर्ने तालिका पाएको छ । एअर अरेबियाले आबुधाबीमा आइतवार र मङ्गलवारको उडान तालिका पाएको छ । सिङ्गापुर एअरले हरेक आइतवार काठमाण्डौ उडान गर्नेछ ।

कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले गएको वैशाख २० गतेदेखि आन्तरिक तथा वैशाख २३ देखि अन्तर्राष्ट्रिय उडान स्थगन गरेको थियो । आन्तरिक उडान पूर्ण रूपमा सञ्चालन गर्ने निर्णय भएको छ । अन्तर्राष्ट्रियतर्फ सम्बन्धित देशले उडान सहजीकरण गरेको खण्डमा आवश्यकताको आधारमा उडान तालिका थप–घट गर्न सकिने प्राधिकरणले जनाएको छ । यसका लागि पर्यटन मन्त्रालयले सहजीकरण गर्नेछ । कोभिडका सङ्क्रमित बढेसँगै सरकारले गएको वैशाख १६ देखि काठमाण्डौ उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरेको थियो । 


लुम्बिनी चिन्तन

थप समाचार