प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी प्रभावित मेलम्ची बजारको बस्तीलाई सुरक्षित स्थानमा व्यवस्थापन गरिने बताएका छन । प्रधानमन्त्री ओलीले आज शनिवार बाढी प्रभावित मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालगायत क्षेत्रको स्थलगत अवलोकन गर्दै मेलम्ची बजारले भोगिरहेको प्राकृतिक क्षतिको दीर्घकालीन समाधान खोज्दै बजारलाई अन्यत्र सुरक्षित ठाउँमा स्थानान्तरण गरी त्यस ठाउँमा तरकारी तथा फलफूल खेती गरिने योजनाबारे जानकारी दिए ।
राजनीतिक आस्थाभन्दा माथि उठेर मानवीय रूपमा बाढी प्रभावितलाई सहयोग गर्न सबै राजनीतिक दल र सङ्घ–संस्थालाई आह्वान गर्दै प्रधानमन्त्री ओलीले विपदका समयमा राजनीति गर्नु उचित होइन, यस समयमा सबै मिलेर सहयोग गर्नुपर्छ, सक्रियताका साथ एकताबद्ध भएर समस्याको समाधान खोज्नुपर्ने बताए ।
उनले बाढी प्रभावितका लागि विभिन्न सङ्घ–संस्था र व्यक्तिद्वारा वितरण गरिएको राहत लक्षित समुदायसम्म पुग्न नसकेकाले एकद्वार प्रणालीबाट मात्रै वितरण गर्न आह्वान गर्दै राहत वितरणभन्दा पनि सामाजिक सञ्जालमा प्रचार मात्रै बढी हुने गरेको , राहत वितरणका नाममा विभिन्न धर्मको प्रचारप्रसार नगर्न पनि अनुरोध गरे ।
प्रधानमन्त्री ओलीले बाढी प्रभावित मेलम्चीका सडक, पुललगायत पूर्वाधारको पुनर्निर्माणको काम तीव्र रूपमा अगाडि बढाइने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले मेलम्ची बजारमा रहेको चन्द्रशम्शेरद्वारा निर्मित झोलुङ्गे पुललाई संरक्षण गर्नुपर्नेमा पनि जोड दिए।
बाढी पीडितलाई अस्थायी आवासको लागि उनले प्रतिपरिवार ५० हजार दिने घोषणा गरेका हुन् । त्यस अवसरमा प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्य, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ र पूर्वमन्त्री शेरबहादुर तामाङको समेत सहभागिता थियो ।