भैरहवा । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले संघको सदस्यको व्यवसायिक प्रतिष्ठानमा आगलागि हुदा दुःख व्यक्त गरेको छ । सिद्धार्थनगर–८ नारायणपथमा रहेको सुन्दर ग्लासमा भएको आगलागिबाट ठूलो मात्रामा क्षति एवं व्यवसायीलाई परेको असरप्रति दुःख व्यक्त गर्दै आगलागि नियन्त्रण गर्न खटिने सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।
संघका कार्यवाहक अध्यक्ष ठाकुरकुमार श्रेष्ठद्वारा आइतबार जारी गरिएको विज्ञप्तीमा कोरोना महामारीकाबीच भएको आगलागि नियन्त्रण गर्न रुपन्देहीस्थित सुरक्षा निकायका प्रमुखसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका अधिकृत तथा जवान एवं सिद्धार्थनगर नगरपालिका लगायत सम्पूर्ण स्थानीय तह, छिमेकी जिल्ला एवं नेपाल नागरिक उड्डयन प्राधिकरण भैरहवा, स्थानीय जनप्रतिनिधिप्रति संघले आभार तथा धन्यवाद ज्ञापन गरेको उल्लेख छ ।
‘आफ्नो ज्यानको जोखिम समेत प्रवाह नगरी आगलागि नियन्त्रण गर्दै मानवीय क्षति हुन रोक्न सफल भएकोमा आभार एवं हार्दिक धन्यवाद व्यक्त गर्दछौं, ’संघका कार्यवाहक अध्यक्ष श्रेष्ठले भने
त्यस्तै संघले अव्यवस्थित वायरिङ र कमसल विद्युतीय सामानले हुन सक्ने सम्भावित आगलागिका घटनाबाट आफ्नो उद्योग, व्यवसायलाई हानी नोक्सानीबाट बचाउन औद्योगिक, व्यवसायिक प्रतिष्ठान तथा गोदामहरुमा गुणस्तरीय विद्युतीय सामग्रीहरुको प्रयोग एवं वायरिङमा विशेष ध्यान दिन समेत सबैलाई आग्रह गरेको छ ।