भैरहवा । रुपन्देहीमा सक्रिय संक्रमितको संख्या ३ सय ३५ पुगेको छ । पछिल्लो २४ घण्टामा जिल्लामा ३५ जना मात्र संक्रमित थपिएका छन् । दुई सय ५४ जनाको आरटी पीसीआर परिक्षण गर्दा ३५ जनामा पोजिटिभ देखिएको हो जुन १४ प्रतिशत हो । पिसीआर परिक्षणको संख्यामा कमि भई अनुपात घटेपनि अझै जोखिम बढि नै रहेको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख राजेन्द्र गिरीले भने ।
निषोधाज्ञाले नै हामीले संक्रमण नियन्त्रिण गर्न सकेका हौं । स्थानीय प्रशासनले अझै जारी राखेको निषेधाज्ञा र त्यसपछिको अवस्थालाई व्यवस्थित गर्न नसके जोखिम पुग्न समय नलाग्ने कार्यालय प्रमुख राजेन्द्र गिरीले बताए ।
आज थपिएका संक्रमित मध्ये सबै भन्दा बढि तिलोत्तमामा ७ महिला र ५ पुरुष गरी १२ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै बुटवल र देवदहमा ७–७, सैनामैनामा ५ र कंचन गाँउंपालिकामा ४ जना नयां संक्रमित थपिएका छन ।
कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमितको ज्यान गएको छैन, जिल्लामा संक्रमित भई मृत्यु हुनेको संख्या भने ५ सय ४ पुगेको छ ।
जिल्लामा कुल संक्रमितको संख्या २८ हजार ५ सय ५४ पुगेको छ । तीमध्ये २७ हजार ७ सय ५० जना निको भइसकेका छन् । सक्रिय संक्रमित ३ सय ३५जना मध्ये ६२ जनामा लक्षण देखिएकोले अस्पतालमा उपचाररत छन भने २७३ जना होम आइशोलेशनमा छन ।