भैरहवा । भानु जयन्तीको अवसर पारेर सामाजिक डिभिजन कार्यालय भैरहवाले विद्यालय र शिक्षकलाई सम्मान गरेको छ ।
रुपन्देही र नवलपरासी कार्य क्षेत्र रहेको डिभिजन कार्यालयले यस क्षेत्रका उत्कृष्ट २ सामुदायिक विद्यालय र १९ उत्कृष्ट शिक्षकलाई सम्मान गरेको हो । शिक्षा तथा सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेश अन्तर्गत रहेको डिभिजन कार्यालयले शिक्षा तथा सामाजिक विकास मन्त्रीको उपस्थितिमा नगद सहित सम्मान गरेको छ ।
उत्कृष्ट विद्यालयको रुपमा रुपन्देहीबाट कान्ति मावि बुटवल र नवलपारसीबाट महाकवि देवकोटा मावि सुनवल रहेका छन् । द्वय विद्यालयलाई दुई लाख ७५ हजार मुल्य वराबरको कार्यक्रम पुरस्कार स्वरुप प्रदान गरिएको डिभिजन कार्यालय प्रमुख दिवाकर भण्डारीले जानकारी दिए । त्यस्तै उत्कृष्ट शिक्षक तर्फ रुपन्देहीका १४ र नवलपारसीका ५ शिक्षक जनही नगद रु २० हजारले पुरस्कृत भएका छन ।
सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि शिक्षा तथा सामाजिक विकास मन्त्री धर्मबहादुर लाल श्रीवास्तवले सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गरी अन्तराष्ट्रिय स्तरमा प्रतिष्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनका लागि प्रदेश सरकारले यस्ता प्रात्साहनका कार्यक्रम आयोजना गरिएको बताए । शिक्षाको ज्योति छर्ने विद्यालय शिक्षक पुरस्कृत हुनु राम्रो हो तर यसै गरी विद्यार्थीहरुको परिणाम पनि उत्कृष्ट आउनु पर्यो भन्त्री श्रीवास्तवले भने ।
सामुदायिक विद्यालय कुनै पनि निजी विद्यालय भन्दा कम हुदैन सबै शिक्षक प्रतिस्पर्धा गरेर नै आएकोले मेहनत र कर्मले पुरस्कृत भएकोमा बधाई दिदै यो चुनौतीलाई जोगाइराख्न अनुरोध गरे । मन्त्रालयले गत वर्षबाट नै पुरस्कारको व्यवस्था ल्याएपनि व्यापकता नपाएकोले यस वर्ष डिभिजन कार्यालय मार्फत १९ शिक्षक, २ विद्यालय र एक जना सञ्चारकर्मीलाई पुरस्कृत गरेको छ । यसलाई आगामी दिनमा पनि मन्त्रालयले निरन्तरता दिने बताए ।
शिक्षा तथा सामाजिक विकास निर्देशनालयका निर्देशक टिकराम अर्यालले शिक्षक सिकाईलाई अन्तरक्रियात्मक बनाउने वातावरण सृजना गर्नुपर्ने बताए । अहिलेको पुरस्कार निश्पक्ष तरीकाले कामको सम्मान स्वरुप हो । शिक्षकलाई अझै जिम्मेवरीवोध भई उत्कृष्ट काम गर्नका लागि यो जिम्मेवारी थपिएको हो उनले भने ।

कार्यक्रममा मन्त्रालयका सचिव तथा कार्यक्रममा अध्यक्ष महादेव पन्थले विद्यार्थी फेल हुनु भनेको विद्यार्थी एकल फेल हुनु मात्र नभई समग्र शिक्षक, विद्यालय, पाठ्यक्रम सबै फेल हुनु हो भने । शिक्षा प्राणली नै त्रुटीपुर्ण रहेकोले यसलाई समय सापेक्ष बनाउदै लैजानु पर्नेमा सचिव पन्तको जोड थियो । शिक्षा नीति तथा शिक्षकको परम्परागत शिक्षण पक्ष परिवर्तन नगरेसम्म यस्को सामाधान नहुने भएकोले समग्र शिक्षा प्रणलीलाई सुधार गर्ने विषयमा मन्त्रालय लागेको छ, यसको लगानी तत्काल नदेखिने भएकाले केही वर्षमा नै सुधार आउने बताए । पहिलेको तुलनामा अहिले सामुदायिक विद्यालयमा भर्ना दर बढेकोले यो हाम्रो लागि सकारात्मक पक्ष हो, निजी विद्यालय भन्दा गुणस्तरीय शिक्षक र सेवासुविधा सामाुदायिक विद्यालयमा रहेकोले यसको सदुपयोग आम नागरिकले गर्नु पर्ने बताए । प्रदेश सरकारको सोच समग्र प्रदेश सुखी जनता भन्ने नाराका साथ भएको सम्मान कार्यक्रमको संचालन शाखा अधिकृत श्याम न्यौपानेले गरेका थिए ।
सो अवसरमा पुरस्कृत विद्यालयको तर्फबाट महाकवि देवकोटा विद्यालय सुनवलका व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरि अर्याल, शिक्षकको तर्फबाट नहरपुर माविका प्रधानाध्यापक धनिश्वर गौतम, भुल्के मावि तिलोतमाका प्रधानाध्यापक दुर्गा सापकोटाले आआफ्ना भनाई राख्दै पुरस्कारले पेशमा थप जिम्मेवारी बोध भएको बताए । कार्यालयका शाखा अधिकृत श्यामलाल न्यौपानेको संचालन, डिभिजन कार्यालका प्रमुख दिवाकर भणडरीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।
पत्रकार सम्झना शर्मा सम्मानित
सामाजिक डिभिजन कार्यालय भैरहवाले पत्रकार सम्झना शर्मालाई सम्मान गरेको छ । कार्यालयको स्थापना काल देखि सक्रियरुपमा कार्यालयका गतिविधि आम नागरिक सामु समाचारको माध्यमबाट प्रवाह गरेको भन्दै शर्मालाई सम्मान गरेको हो । शर्मा हाल भैरहवा संचार गृहद्धारा संचालित भैरहवा एफ.एम., भैरहवा टि भि, अभियान दैनिक, नारीबिम्ब लगायतका मिडियामा आवद्ध छिन ।
पुरस्कृत विद्यालय र शिक्षक
पुरस्कृत विद्यालयमा कान्ती माध्यमिक विद्यालय बुटवल र महाकवी देवकोटा मावि सुनवल नवलपरासीरहेका छन् भने उत्कृष्ट शिक्षकहरुमा सिद्धार्थनगरबाट रुपन्देही लिलाराम न्यौपाने माविका प्राचार्य गणेश भट्टराई, रामनरेश आदर्श माविका राम सुरेश वर्मा, सिक्टहन माविका दुधनाथ कुवर, सुण्डी माविका सतिशचन्द्र त्रिपाठी, कृषक आदर्श माविका गिरीजा शंकर पाण्डे, भुल्के माविका दुर्गा साकोटा, नहरपुर माविका धनिश्वर गौतम, हरैया माविका मेघनाथ शर्मा, बसन्तपुर दशरथ जनतामाविका राजमहेन्द्र राय, तेनुहवा सामुदायिक माविका मोहम्मद इलियास मुसलमान, जोगडा माविका राजेश्वर निषाद, रामापुर माविका अम्बिका ज्ञवाली, पब्लिक माविका डिलाराम खनाल र फर्साटिकर माविका केशवराज आचार्य रहेका छन । त्यस्तै नवलपारसीबाट नवजीवन माविका अर्जुन पौडेल, महाकवी देवकोटा माविका खेमलाल जोशी शर्मा, जनता माविका दीपक भट्टराई र सुबंशी कन्या आधारभूत विद्यालयका विरेन्द्र प्रसाद कुर्मी उत्कृष्ट शिक्षकको रुपमा पुरस्कृत भएका छन ।