भैरहवा । छाडा चौपायाको समस्या झेल्दै आएको सिद्धार्थनगरले अबको एक वर्षमा समस्या समाधन हुने गरी योजना बनाएको दावी गरेको छ । नगरपालिकाको ठूलो समस्याको रुपमा रहेको छाडा चौपाया व्यवस्थापनलाई मध्येनजर गर्दै नगरपालिकाले आन्तरिक स्रोतबाट नै बजेट विनियोजन गरेको हो । हालै मात्रै प्रस्तुत गरेको नगरपालिकाको २०७८–७९को बजेटमा नगर क्षेत्रभित्र अव्यवस्थित रुपमा छाडिएका छाडा चौपाया व्यवस्थापनका लागि ५४ लाख ५० हजार रुपैंया विनियोजन गरिएको छ । छाडा पशु चौपायाले रुपन्देहीमा दुर्घटनाको जोखिम बढी रहेकोले र सौन्दर्यरता माथि पनि प्रश्न उठ्ने गरेकोले चौपाया व्यवस्थापनलाई दीर्घकालिन योजना सहित ठूलो समस्यालाई समाधान हुने आकलन सहित यो बजेट बिनियोजन गरिएको हो ।
संविधानको स्थानीय सरकार संचालन ऐनको परिच्छेद–३ अन्तर्गत दफा–११ को उपदफा २ मा छाडा पशु चौपायाको नियन्त्रण गर्ने अधिकार स्थानीय तहलाई सुनिश्चत गरेको छ । समय समयमा स्थानीय स्तरबाट व्यापक आलोचना भइरहेको नगरको यो कार्यप्रति अहिले नगरपालिकाले अग्रसरता देखाएर व्यवस्थापनका लागि ठूलो रकम यस क्षेत्रमा लगानी गर्ने योजना बनाएको छ ।
न्गरपालिकाले भलुही र बाउन्नकोटीमा रहेको गौशालाका लागि २–२ लाख बजेट छुट्याएका छ । नगरपालिका क्षेत्रमा दुर्घटनामा परेका चौपायाको उपचार र छाडा चौपाया व्यवस्थापनको यातायातमा सो रकम खर्च हुनेछ भने वडा नम्बर ११ सिसवामा रहेको सार्वजनिक जग्गामा कान्जी हाउस(पशु बन्दी गृह) निर्माणका लागि आवश्यक पुर्वाधार निर्माण गरी संचालनमा ल्याउनका लागि ५० लाख बजेट विनियोजन गरेको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम मरासिनीले जानकारी दिए ।
नगरपलिकाको स्वामित्वमा करीब ११ विघा जग्गा सो क्षेत्रमा छ, त्यसमध्ये केही जग्गा चिस्यान केन्द्रमा प्रयोग हुनेछ । कान्जी हाउस निर्माणका लागि साउन महिनाको सुरुवातसंगै प्रक्रिया अघि बढाउंछौ, एक वर्ष भित्र नगरभित्र रहेका छाडा चौपायालाई त्यहां राखेर तिनीहरुका संरक्षण, उपचार र पालन पोषण हुन्छ सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मरासिनीले भने । नगरपालिकाले दुर्घटाना न्युनिकरणलाई मध्येनजर गर्दे बढी सवारी चाप हुने सिद्धार्थनगरको बुद्धचोक र देवकोटा चोकमा ट्राफिक लाइट जडानका लागि ६० लाख बजेट विनियोजन गरेको छ ।
छाडा चौपायाले दुर्घटना बढ्दै गएसंगै जिल्ला प्रहरी कार्यालयले तत्कालका लागि छाडा चौपाया धनिको पहिचान गर्ने अभियान चलाएको छ । ‘हामीले केही चौपाया धनिलाई पहिचान गरिसकेका छौ, तथ्याङक कलेक्शन जारी छ, छिटै नै नगरपालिकासंग समन्वय गरेर सम्झाई बुझाई गर्ने वा कानुन बमोजिम कारवाही गर्ने भन्ने विषयमा छलफल गरेर एक्सन लिने जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक सत्य नारायण थापाले जानकारी दिए ।
छाडा चौपायाले सहरको सुन्दरीकरणमा ह्रास पु¥याउनुका साथसाथै दुर्घटना पनि बढाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका अनुसार पछिल्लो ३ वर्षमा छाडा चौपायाबाट हुने दुर्घटनाको संख्यामा पनि बृद्धि भएको छ । पछिल्ल्लो ३ वर्ष रुपन्देहीको बुटवल बाहेक यस क्षेत्रमा १० वटा दुर्घटना छाडा चौपायाले भएको छन् । आव २०७५÷०७६मा १ वटा, २०७६÷७७ मा ७ वटा र २०७७÷७८मा २ वटा दुर्घटना भएकोमा जसबाट १३ वटा चौपायाको मृत्यु, ४ वटा घाइते भएका छन । सो दुर्घटनाबाट ५ जना मानिस घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरिक्षक दिवस जिसीले जानकारी दिए ।
सडकमा छाडिएका चौपायाका कारण ठूलो दुर्घटना हुने जोखिम कायम छ । भैरहवाको मुख्य बजार बैंकरोड, गल्लामण्डी, विपीपथ, लुम्बिनीरोड, आवारोड, हाटबजार, मिलनचोक, नारायणस्थान, सिद्धार्थराजमार्ग लगायतका स्थानमा पशु चौपायाले आवगमनमा पनि अवरोध हुने गरेको छ ।