भैरहवा । कोभिड–१९ सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि जारी गरिएको निषेधाज्ञा रुपन्देहीमा साउन १५ गतेसम्मका थपिएको छ ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बिहीबार सूचना जारी गर्दै साउन १ गते बिहान ६ बजेदेखि साउन १५ गते राति १२ बजेसम्म निषेधाज्ञालाई निरन्तरता दिइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।
कार्यालयले निषेधाज्ञा थपेपनि पछिल्लो समय कोरोना जोखिम घट्दै गएकोले निषेधाज्ञालाई खुकुलो बनाउदै लगेकोे छ । आज बसेको बैठकले विश्व विद्यालय, क्याम्पस र अन्य निकायहरुबाट पूर्व निर्धारित परिक्षा कार्यक्रम २५ जना भन्दा बढी जहुने गरी संचालन गर्ने, भिडभाड हुन नदिन सिफ्ट÷सिफ्टमा परीक्षा संचालन गर्ने, अनिवार्य रुपमा मास्क र सेनिटाइजरको प्रयोग गरी प्रत्येक सिफ्टमा परीक्षा हल निसंक्रमित गर्नु पर्ने निर्णय गरेको छ ।
कोरोना संक्रमण फैलिन नदिन तथा यसको रोकथाम, नियन्त्रण तथा उपचार एवं व्यवस्थापनलाई प्रभावकारी बनाउन २०७८ वैशाख १५ गतेको आदेश बमोजिम हुने गरी निषेधाज्ञालाई निरन्तरता दिइएको प्रमुख जिल्ला अधिकारी तामाङले जानकारी दिए ।
निषेधाज्ञामा सबै प्रकारका सभा, जुलुस, महोत्सव, पार्टी प्यालेस, सिनेमा हल र हाटबजार सञ्चालन गर्न नपाइने, परम्परागत रुपमा भइ आएको दैनिक रुपमा हुने आन्तरिक नित्य पूजाबाहेक सम्पूर्ण सांस्कृतिक गतिविधिहरु सञ्चालन गर्न नपाइने, औषधी खरिद तथा औषधी उपचार प्रयोजनार्थ र अत्यावश्यक कामबाहेक अन्य कामका लागि नेपालीहरु बेलहिया नाकाबाट आवातजावत गर्न नपाइने जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।
त्यस्तै जिल्ला भित्र सार्वजनिक सवारी साधन स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरी सिट क्षमताको आधा मात्र राख्ने, निषेधाज्ञा कार्यान्वयनमा नकारात्मक असर हुन नदिन स्वास्थ्य मापदण्ड पालना गर्दै आर्थिक गतिविधी चलायमान बनाउन स्वास्थ्य मापदण्ड अपनाएर संचालन गर्न सकिने गरी निर्देशन दिएको छ ।
त्यस्तै निषेधाज्ञालाई केही खुकुलो बनाउने गरी प्रशासनले मासु, माछा, तरकारी, फलफूल दुग्धजन्य सामग्री स्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरी निश्चित समय तोकेर सञ्चालन गर्न व्यवस्था अहिलेको जारी सूचनाबाट समयसीमा हटाएको छ ।