भैरहवा । स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा खुकुलो भएसँगै जनजीवन सामान्य बन्दै गएको छ । संक्रमण बढेसँगै रुपन्देहीमा स्थानीय प्रशासनले बैशाख १६ गतेबाट निरन्तर निषेधाज्ञा जारी गरे पनि हाल स्वरुप परिवर्तन गर्दै निषेधाज्ञा थपिदै गएपछि अवस्था खुकुलो बन्दै गएको छ ।
फैलिएको कोभिड–१९ सङ्क्रमण न्यून हुदै गएकोले कतिपय जिल्लाले निषेधाज्ञा हटाइसकेका छन् भने आदेश लागू गरेका जिल्लामा लुज डाउन हुदै गएको छ । साउन १ गतेबाट रुपन्देहीमा सवारी साधानमा लगाइएको जोर बिजोर प्रणाली र तोकिएका पसलका समयसिमा हटाएसँगै बजारमा चहल पहल बढेको छ । जनजीवन सामान्यतर्फ उन्मुख भइरहँदा पछिल्ला तथ्याङ्कले कोभिड–१९ को जोखिम भने कायमै रहेको देखाएको छ ।
शुरुमा एक्कासिमाथि उठेर तल झरेको सङ्क्रमणको ग्राफ पुनः उकालो लाग्न थालेकाले वर्तमान परिस्थितिमा नागरिकले पनि सावधानी अपनाउनुपर्ने र राज्यले पनि भिडभाड हुने क्षेत्रमा बढी निगरानी गर्नुपर्ने हुन्छ ।
रुपन्देहीमा आज थपिए २१ जना
रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधिमा २१९ जनाको कोरोना परीक्षण गर्दा २१ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकामा ८ जना, तिलोत्तमा नगरपालिका, सिद्धार्थनगर नगरपालिकामा ४–४ जना, देवदह नगरपालिकामा २ जना, सैनामैना नगरपालिका, सियारी गाउँपालिका र कञ्चन गाउँपालिकामा १–१ संक्रमित थपिएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा जिल्लामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छ । हालसम्म जिल्लामा ५०५ जनाको कोरोनाबाट मृत्यु भएको छ । जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या ३२९ रहेको छन् ।