भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अषाढ महिनामा उत्कृष्ट कार्य सम्पादन गरेका तीन प्रहरी युनिट इन्चार्जलाई सम्मान सहित पुरस्कृत गरेको छ ।
कार्यालय प्रमुख प्रहरी उपरिक्षक मनोज केसीको कार्ययोजनामा जिल्ला भित्रमा कार्यरत प्रहरीहरु मध्ये प्रत्येक महिना उत्कृष्ट कार्य गर्ने प्रहरी युनिट कर्मचारीहरुलाई प्रोत्साहन स्वरुप पुरस्कृत र सम्मान गरिदै आएको हो ।
उच्च इन्टीग्रिटी अंक प्राप्त गरी अषाढ महिनाको इन्टीग्रिटी इन्चार्ज अफ द मन्थको रुपमा ईलाका प्रहरी कार्यालय मझगावा, रुपन्देहीमा कार्यरत प्रहरी निरीक्षक सुरज खत्री, प्रहरी चौकी चनौलिबगाह, रुपन्देहीमा कार्यरत प्रहरी सहायक निरीक्षक पवन जि.सी. र प्रहरी चौकी सुक्रौलिआमा, रुपन्देहीमा कार्यरत प्रहरी सहायक निरीक्षक दिलिप आलेलाई बेष्ट इन्टीग्रिटी इन्चार्जबाट सम्मानीत भएका हुन ।
जिल्ला प्रहरी कार्यालयले दिएको जिम्मेवारी कुशलतापूर्वक एवम् प्रशंसनीय ढङ्गबाट सम्पादन गर्दै फरार अपराधी पक्राउ, अवैध सामान बरामद, लागु औषध नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण तथा प्रतिकार्यको निश्चित आधारमा उच्च अंक प्राप्त गरी जिल्ला प्रहरी कार्यालय रुपन्देहीको लक्ष्य प्राप्तीमा महत्वपूर्ण योगदान गरेकोले उनीहरुलाई पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी केसीले बताए ।
स्वच्छता र इमान्दारिता कार्यान्वयन गराउनका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुखको योजना अनुसार बेष्ट इन्टीग्रिटी इन्चार्जबाट उनीहरुलाई सम्मान गरिएको हो । उनीहरुलाई उच्च इन्टीग्रिटी अवार्ड र अभिलेखमा जनिने गरि नगद पुरस्कार समेत प्रदान गर्ने गरिएको छ ।
आफ्नो मातहत प्रहरी कर्मचारीहरुलाई समेत गैह्र ब्यवसायीक गतिबिधिहरु नियन्त्रण गर्दै उच्च नैतिक आचरणमा रही उल्लेखनीय भूमिका निर्वाह गरेकोले निजहरुको सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै यसलाई निरन्तरताका साथै अन्य प्रहरी कर्मचारीहरुलाई समेत प्रोत्साहित गर्न यो कार्यक्रम ल्याइएको हो ।
हरेक महिना निरन्तर पुरस्कृत र सम्मान गर्ने एसपी केसीको योजना छ । पुरस्कृत हुनेहरुलाई जिल्ला प्रहरी कार्यालयले एक कार्यक्रम आयोजना गरि कार्यालयका प्रमुख प्रहरी उपरिक्षक मनोज कुमार केसीले पुरस्कार प्रदान गरेका हुन ।
जिल्लामा १३ वटा प्रहरी निरिक्षक र प्रहरी नायब उपरिक्षकको कमाण्डमा इलाका प्रहरी कार्यालय र सई/असईको कमाण्डमा रहेको ४६ वटा प्रहरी चौकी रहेको छ ।