Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

तराई–मधेश समृद्धि कार्यक्रम अन्तर्गत मर्चवारका २४ विपन्न परिवारको घर अलपत्र

आफुलाई केही थाहा छैन भनि अध्यक्षले गरे मोबाइल स्वीच अफ


  • लुम्बिनी चिन्तन
  • श्रावण १०, २०७८ आइतवार
  • 1.9K
    SHARES

तराई–मधेश समृद्धि कार्यक्रम अन्तर्गत मर्चवारका २४ विपन्न परिवारको घर अलपत्र

भैरहवा । रुपन्देहीको मर्चवारमा तराई–मधेश समृद्धि कार्यक्रम अन्तर्गतका घर समयमा निर्माण सम्पन्न नहुंदा २४ परिवार अलपत्र परेका छन । कोटहीमाई गाउँपालिकामा विपन्न परिवारका लागि निर्माण हुनुपर्ने उक्त घर निर्माण कम्पनिले समयमा निर्माण सम्पन्न नगर्दा विपन्न परिवार बिचल्लीमा परेका हुन् ।

घर बन्ने आशमा रहेका ती परिवारहरुले जसो तसो त्रिपाल र छानाको घरमा जिवन गुजारिरहेका छन् ।  विपन्न परिवार घर बन्ने आशमा ओत लाग्ने ठाँउ नै भत्काएर घर निर्माणमा लागेपनि निर्माण कम्पनिको लापरवाहीले अहिले उनीहरु अरुको घर र त्रिपालको ओतमा बस्न बाध्य भएका छन् ।

तराई–मधेश समृद्धि कार्यक्रम अन्र्तगत कोटहीमाईमा २४ घर निर्माणको जिम्मा अन्सुमन निर्माण सेवा कम्पनीले लिएको थियो । २०७७ मंसिर ८ गते सम्झौता भई  ६ महिना १८ दिनमा सम्पन्न गर्ने गरी निर्माण कम्पनीले २०७८ जेठ २५ गतेभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी ६१ लाख ४ हजार लागतमा बनाउने सम्झौता गरे पनि कुनै पनि घर निर्माण सम्पन्न भएको छैनन् ।

“हामीले घर पाउने आशमा आफु बस्दै आएको घर उजाडेर निर्माणका लागि दिएका थियौं तर अझै पनि कहिले घर बन्छ निश्चित छैन ”कोटहीमाई गाउँपालिका–१ परस्पुरका ६० वर्षीय राम उजागिर हरिजनले भने ।

श्रीमती, छोरा बुहारी र नातिनातिनी सहित ६ जना परिवार रहेको हरिजन गाउँपालिकाले टीनको घर बनाउने भनेको पुरानो घर भत्काएर अहिले घर अगाडी त्रिपालले बनाइएको टहरामा बस्दै आएका छन ।

कोटहीमाई–१ कै तिवारीपुर टोलमा दैनिक ज्यालादारीमा काम गरी फुसले बनाइएको छानोमा ७ परिवारसहित बस्दै आएको बलिराम राजभरको पीडा पनि उस्तै छ । ३ महिनादेखि निर्णाधिन जस्तापाता (टीन) को एककोठे घर उस्तै छ ।

यि त केवल उदाहरण मात्र हुन यस्ता दुखेसो २४ घर परिवारकै छ, निर्माण कम्पनीका प्रतिनिधि महिना दिनभयो हेर्न आएको छैनन् निर्माण कार्य परैको कुरा हो । सम्पर्क गर्न खोज्दा  आफूूसंग पैसा छैन, पैसा भएपछि बनाइदिन्छु भनेर जवाफ दिने गरेको अनिल राजभरले भने ।

निर्माण सम्पन्न हुनुपर्ने घर अहिले कुनै जग मात्र पुरेर बसेको छ भने कतै पर्खाल ठडाएर छाडिएको छ । जनप्रतिनिधीहरुलाई यसबारे अवगत हुंदा समेत हामी विपन्न परिवारलाई कसैले साथ दिएको छैन, निर्माण कम्पनीलाई जानकारी गराइदिन्छौ भन्ने आश मात्र दिएको कोटहीमाई–३ कुडसरका त्रिलोकी धोबी सुनाउंछन ।

गाउँपालिका अध्यक्ष चन्द्रभुषण यादवले आफ्नै छोरालाई ठेक्का दिएर गरीब घरपरिवारसंग खेलवाड गरेको कोटहीमाई–१ का स्थानीय चन्दन तिवारीले आरोप लगाउँछन् । यस्तो लापरवाहीबारे गाउँपालिकाको प्राविधिक शाखालाई पटकपटक जानकारी गराए पनि कामप्रति कुनै वास्ता नभएको तिवारीको भनाइ छ । यस्तो समस्याप्रति गाउँपालिका अध्यक्ष चन्द्रभुषण यादवलई जानकारी भए पनि ठेकेदार आफ्नो छोरा भएकोले आफ्नो कर्तव्यबाट पन्छिन खोजेको तिवारीले बताए ।

गाउँपालिका अध्यक्ष यादवकै छोरा विकास यादवले ठेक्का पाएका छन् । निर्माण कार्यको म्याद भन्दा आर्थिक वर्ष पार गरिसक्दा पनि सबै घरहरु अलपत्र रहेको कोटहीमाई गाउँपालिकाका इञ्जिनियर अरबिन्द कुमार यादवले बताए । निर्माण कम्पनीले कोरोना महामारी, निषेधाज्ञा र वर्षाको कारण ढिलाई भएकोे भन्दै म्याद थप गर्न निवेदन दिए पनि म्याद थप भएको छैन । कम्पनीले गरेको कार्यको मुल्यांकन गरी गाउँपालिकाले करीब ५० प्रतिशत मात्र भुक्तानी गरिसकेको इन्जिनियर यादवले बताए ।

कोटहीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश कुमार गौडले गरीब घर परिवारको समस्याबारे आफुलाई पनि जानकारी आएको छ, निर्माण कम्पनीसँग छलफल गरी छिटै अवस्थाबारे बुझ्ने बताए । ‘गाउँपालिका अध्यक्षको छोरोको निर्माण कम्पनी हो, उनले जति काम गरेका छन्, प्राविधिकको मूल्यांकन अनुसार त्यति मात्र भुक्तानी गरिएको छ । सबै घर समयमै सम्पन्न गर्नुपर्ने हो । कम्पनीले के कति कारणले काम गर्न नसकेको हो गाउँपालिका अध्यक्षसंग सल्लाह गरेर आवश्यक परे कानूनी कारवाहीमा जाने प्रमुख प्रशासकीय अधिकृत गौडले भने ।

गाउंपालिका अध्यक्ष यादवसँग भवनबारे बुझ्दा आफुलाई यसबारे केही जानकारी नभएको भनि मोबाइल स्वीच अफ गरे ।

निर्माण कम्पनीका संचालक विकास यादवलाई पटक पटक फोन सम्पर्क गर्दा सम्पर्कमा आउन चाहेनन ।


लुम्बिनी चिन्तन

थप समाचार