भैरहवा । सरकारको विभेदकारी नीतिका कारण कोरोना कहरमा आफुहरु थप समस्यामा परेको यौनिक तथा अल्प संख्यक समुदायका सदस्यहरु गुनासो गरेका छन् ।
ओपन सोसाईटी फाउण्डेशनको सहयोग, एक्लोलाई सहारा दिने वृक्ष समुहद्धारा भैरहवामा आयोजित एलजीविटीआईक्यु समुदायको वर्तमान अवस्था र कोभिड १९ को समयमा भोग्नु परेका चुनौति र समस्या विषयक अन्तरक्रिया कार्यक्रममा आफ्ना भोगाई राख्दै उनीहरुले कोभिड संक्रमित र मृत्युको तथ्यांकमा समेत राज्यले विभेद गरेको दुखेसो पाखे । लकडाउनका कारण समस्यामा गरेका व्यतिmहरुलाई स्थानीय सरकारले राहत वितरण गरिए पनि पहिचान नहुंदा त्यसबाट यौनिक तथा अल्पसंख्यक समुदाय बन्चित बन्न पुगेको उनीहरुको भोगाई छ । राहत वितरणमा नागरिकतालाई आधार बनाउंदा नागरिकता विहीन यो समुदाय सरकारी सुविधाबाट अलग बन्नु पर्ने, समाज घर परिवारले नस्वीकार्ने जस्ता कारणले आत्महत्यासम्मको शिकार बन्ने गरेको एक्लोलाई सहारा दिने समुह वृक्ष समुहद्धारा संचालित ओपन सोसाईटी फाउण्डेशन लुम्बिनी प्रदेशका संयोजक रेशम न्यापानेले जानकारी दिए ।
विषेश गरेर कोरोनाको समयमा घरभाडामा बस्नेहरुलाई घरवालाले तनाव दिने, भाडा समयमा नदिएको निहुंमा घरबाट निकालिने, आफ्नै घरपरिवारमा समेत नस्वीकारिनाले ज्यान पाल्नकै लागि सडकमा बसेर यौन पेशा समेत गर्न बाध्य भएको भन्दै क्षमताको आधारमा सरकारका हरेक निकायमा हाम्रो समुदायलाई कोटा छुट्याउनु आवश्यक रहेको वृक्ष समुहका विनोद विसीको भनाई छ । सरकारले कोरोनाको तथ्यांकमै आफ्नो समुदायलाई समेटेर सोही अनुरुप राहतको व्यवस्था गर्न समेत उनले माग गरे ।
वृक्ष समुहका अध्यक्ष अवन्तिका घर्तिमगरको अध्यक्षतामा भैरहवामा मंगलबार सम्पन्न कार्यक्रममा सरकारका हरेक तथ्यांकमा आफ्नो समुदायलाई समेट्न पहल गरिदिनका लागि संचारकर्मीलाई उनीहरुले अनुरोध गरेका थिए । रुपन्देही जिल्लामा मात्र करीब १० हजारको हाराहारीमा यो समुदाय रहेको दावी गरिए पनि घरपरिवार र समाजका कारण खुलेर बाहिर आउन नसकेको उनीहरुको भनाई छ ।