काठमाण्डाैं । शुक्रबार दार्चुलामा भएकाे घटनाप्रति गृह मन्त्रालयकाे ध्यानाकर्षण भएको छ ।
श्रावण १५ गतेका दिन दार्चुला जिल्लाको ब्याँस गाउँपालिका वडा नं। २ खाङदाङ मालघाटबाट तुईनको प्रयोग गरी जयसिंह धामी सहितका व्यक्तिहरु भारत तर्फको बाटो हुँदै सदरमुकाम खलंगा आउने क्रममा ब्यास गाउँपालिका वडा नं। २ माल बस्ने वर्ष ३३ का जयसिंह धामी तुईनबाट तर्दै गर्दा भारतीय क्क्द्य का जवानले तुईन काटी दिएकोले निज जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको भनी विभिन्न संचार माध्यम तथा सामाजिक सञ्जालहरुमा प्रकाशित सूचना र समाचार प्रति यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको हाे ।
उक्त घटना प्रति दुःख प्रकट गर्दै स्थानीय प्रशासन एवं सुरक्षा निकायहरुलाई सो घटनाको वास्तविकता पत्ता लगाउन आवश्यक निर्देशन दिई सकेको र घटनाको वास्तविक सत्य तथ्य जानकारी तथा खोज उद्दारको लागि जिल्ला प्रशासन कार्यालय, दार्चुलाबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल ४४ नं। गण र राष्ट्रिय अनुसन्धान विभागको टोली खटिई घटना स्थलमा आवश्यक जाँचबुझ गर्ने कार्य भइरहेको छ ।
घटनास्थल सदरमुकामबाट ५ घण्टा पैदल दूरीमा रहेको हुँदा उक्त टोली फर्किए पश्चात यथार्थ जानकारी प्राप्त हुने नै छ उक्त घटनाको अनुसन्धान तथा छानविनको क्रम जारी रहेकोले सत्य तथ्य पुष्टी भई नसकेको अवस्थामा भ्रम सिर्जना हुनेगरी सूचना र समाचार प्रकाशन नगरिदिनुहुन सम्बन्धित सवैमा गृह मन्त्रालय हार्दिक अनुरोध गर्दछ ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले महाकाली नदीमा तुइनबाट खसेर एक युवा वेपत्ता भएको खबरलाई लिएर तथ्यहीन प्रचार नगर्न अनुरोध गरेको छ ।
भारतीय सीमा सुरक्षा बलले डोरी काटेपछि व्याँस गाउँपालिकामा तुइन तर्दै गरेका एक नेपाली नागरिक महाकाली नदीमा बेपत्ता भएको दाबी सहित प्रकाशन–प्रशारण भइरहेको खबरहरु प्रति ध्यानाकर्षण भएको भन्दै प्रशासनले दुई देशबीचको सम्बन्धमा खलल पर्ने गरी तथ्यहीन प्रचार नगर्न भनेको हो । सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्टले विज्ञप्ति निकालेर प्रशासन कार्यालयले घटनाका सम्बन्धमा जानकारी दिन भारतीय समकक्षीलाई पत्रचार गरेको र नेपालको तर्फबाट पनि अनुसन्धानका लागि टोली खटिसकेकोले अनुसन्धानपछि मात्र घटनाको यथार्थ थाहा हुने बताउनुभएको छ ।
टोलीले स्थलगत अनुसन्धान गरेपछि मात्रै औपचारिक कुरा थाहा हुने र घटनाबारेमा जानकारी गराउने विज्ञप्तिमा उल्लेख छ । घटनाबारे अनुसन्धानका लागि सशस्त्र प्रहरी बलका डीएसपी वीरसिंह धामी नेतृत्वको टोली घटनास्थलमा खटिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले व्याँस गाउँपालिकामा हिजो भएको घटनाबारे अनुसन्धान गर्न गृहमन्त्री बालकृष्ण खाणलाई निर्देशन दिएको भोलिपल्ट आज सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ गएको हो ।
हिजो जिल्ला सदरमुकाम खलङ्गा पुग्न भारतीय बाटो प्रयोग गर्न खोजेको बेला तुइनबाट खसेका जयसिंह धामी अझै बेपत्ता छन् । धामीले तुइनबाट नदी पार गर्दै गर्दा भारतीय सीमा सुरक्षा बलले डोरी काटेपछि नदीमा वेपत्ता भएका धामीसँगै रहेका साथीहरुले बताएका छन् । सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासीन्दाले धामीको खोजी गरिरहेका छन् । स्थानीय प्रशासन र सुरक्षा निकायले पुष्टि गरिसकेको नभए पनि घटनालाई लिएर आक्रोश व्यक्त भइरहेको छ ।
सत्तारुढ नेपाली काँग्रेसले हिजै विज्ञप्ति निकालेर घटनाका सन्दर्भमा सत्यतथ्य बाहिर ल्याउन र आफ्ना नागरिकलाई न्याय दिलाउन सरकारसँग माग गरेको छ । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, एमाले नेता तथा पूर्वउपप्रधानमन्त्री भीम रावल लगायतले पनि दोषीलाई कारबाही गर्न माग गरेका छन् ।