भैरहवा । नेपाल क्रिकेटका पूर्व कप्तान पारस खडकाले अन्तरािष्ट्रय क्रिकेटबाट सन्यास लिएको घोसणा गरेका छन । आज बिहान सामाजिक संजालमा पोस्ट गर्दै पूर्वकप्तान खडकाले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको घोषणा गरेका हुन् ।
उनले सामाजिक संजालमा लेखेका छन–
सम्पूर्ण नेपाली क्रिकेटका समर्थक र सरोकारवाला प्रति कृतज्ञता व्यक्त गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट मैले संन्यास लिने निर्णय लिएको छु । नेपालका लागि खेल्नु मेरो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो ।
२००२ मा १५ वर्ष हुँदा मैले सुरु गरेको क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने प्रशिक्षकहरू, साथी खेलाडीहरू, प्रशंसकहरू, सरोकारवालाहरू, मिडियाकर्मी, मेरो परिवार र साथीहरू प्रति म सदैव ऋणी रहनेछु
क्रिकेटरका रूपमा मैले आफ्नो मन, वचन र कर्मले कर्तव्यनिष्ठ भई देश र नेपाली क्रिकेट जगतको उत्थानका लागि सदैव आफ्नो भूमिका निर्वाह गरें । मेरो जीवनमा मैले देखेको सपना भनेकोनै नेपाली क्रिकेटको उन्नति हो तर यसका लागि सम्पूर्ण क्रिकेट समाज र सरोकारवालाहरूको संयुक्त प्रयासको आवश्यकता छ । इमानदारिताका साथ काम गर्ने हो भने हामीले नेपाली क्रिकेटलाई अवश्य पनि एउटा नयाँ उचाइमा पु¥याउनेछौं।
अन्तर्राष्ट्रिय क्रिकेटरका रूपमा मेरो यात्रा टुङ्गिएको छ तर नेपाली क्रिकेटका लागि मेरो सपना भने अझै पनि बामे सर्दै छन् ।
मैदान भित्रका यी दुई दशक, जीवन रहुन्जेल, मिठो यादका रूपमा मसँग रहनेछन् । हामी सबैले मिलेर नेपाली क्रिकेटलाई नयाँ उचाइमा पु¥याउनेछौं भन्ने विश्वास लिएको छु ।

झन्डै १० वर्ष नेपाली राष्ट्रिय टोलीको कप्तानी सम्हालेका पारसले २०७६ असोज २८ गते कप्तानबाट राजीनामा दिएका थिए ।
पारसले सन् २००४ मा मलेसियाविरुद्ध राष्ट्रिय टोलीबाट पहिलो पटक खेलेका थिए । सन् २००९ मा विनोद दासलाई प्रतिस्थापन गरी नेपाली टोलीको कप्तानी सम्हालेका थिए । १० वर्षको बीचमा नेपाली क्रिकेटले देखेको सबैखाले सपना साकार पार्ने समूहको नेतृत्व पारसले गरे । उनी नेपाली क्रिकेटमा अहिलेसम्मकै सर्वाधिक सफल कप्तान हुन । नेपाललाई आईसीसी विश्व क्रिकेट लिग डिभिजन–५ देखि ट्वान्टी–२० विश्वकप र एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाउन पारसले खेलाडी र कप्तानको रूपमा खेलेको भूमिका अविश्वसनीय छ ।
उनी नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय, ट्वान्टी–२० अन्तर्राष्ट्रिय र ट्वान्टी–२० मा सर्वाधिक रन बनाउने खेलाडी हुन् । पारसले नेपाली टोलीबाट १० वटा अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेलेका छन् । उनले १० खेलबाट ३१५ रन बनाएका छन् । त्यस्तै उनले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ७९९ र ट्वान्टी–२० मा ५६ खेलमा १ हजार ३ सय ७७ रन बनाएका छन् ।
३३ वर्षे उनी नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय र ट्वान्टी–२० अन्तर्राष्ट्रियमा शतक बनाउने पहिलो खेलाडी हुन् । उनकै कप्तानीमा नेपालले २०१४ मा बंगलादेशमा टी–२० विश्वकप खेलेको थियो भने २०१८ मा जिम्बाब्वेमा भएको विश्वकप छनोटबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो ।