भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले विभिन्न स्थानबाट भन्सार छलेको अबैध ११ लाख १८ हजार रूपैयाँ बराबरको सामग्री बरामद गरेको छ ।
कार्यालय मातहतका इलाका प्रहरी कार्यालय लुम्बिनी, मझगावा र मंगलपुरको टोलीले मंगलबार भन्सार छलेको सो सामग्रीहरू बरामद गर्नुका साथै संलग्न मानिस र मोटरसाईकल समेत नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय लुम्बिनीको टोलीले बिभिन्न कम्पनिका मोबाईल सेट–३७ थान, ईयरफोन–१७५ थान, ब्लुतुथ–५ थान र मोबाईलको व्याट्रि–१०० थान गरी जम्मा रु.८ लाख २० हजार बराबरको अबैध मोबाईल समेतका सामान बरामद गरेको छ ।
यस्तै, जिल्ला प्रहरी कार्यालयको टोलीले लु ६ प ३०२५, लु ५ प ५०८८ र युपी ५३ ए ६९१६ नं को मोटरसाईकलमा चढि आएका रुपन्देही रोहिणी गाउँपालिका –४ छिपागढका १८ वर्षिय मुवारक मुसलमान, सोही ठाउं बस्ने १९ वर्षिय नजरे आलम र अनिल बानियालाई मोटरसाइकलमा बोइलर कुखुरा ल्याउंदै गरेको अबस्थामा १५० वटा ब्रोईलर र मोटरसाइकल सहित नियन्त्रणमा लिएको हो ।
उनीहरुबाट जनही २५/२५ हजारका दरले ७५ हजार रूपैयाँ जरिवाना र आयातमा संलग्न गरिएका तीन वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । बरामद कुखुराहरु आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाईन, मोटरसाईकल र मानिस भन्सार कार्यालय बेलहिया पठाईएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी सत्य नारायण थापाले जानकारी दिए ।
यस्तै ईलाका प्रहरी कार्यालय मझगावा रुपन्देही मातहतको प्रहरी चौकी शिवपुर गोनाहाबाट खटिएको प्रहरी टोलीले भारतबाट अबैध रुपमा भन्सार छलेर ल्याउदै गरेको कुर्ता सुरुवाल २९ थान, तन्ना–२ पिस र पर्दा–५ थान गरी अन्दाजी मूल्य रु.३३ हजार बराबरको अबैध सामान बरामद गरि भन्सार कार्यालय बेलहिया पठाईएको छ ।
यसैगरी ईलाका प्रहरी कार्यालय मंगलापुरबाट खटिएको प्रहरी टोलीले अन्दाजी मूल्य रु १० हजार बराबरको ४ बोरा चिनी बरामद गरि आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बेलहिया पठाईएको प्रहरीले जनाएको छ