सरकारले पर्सि शुक्रबार २२ गतेदेखि कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा दिइने भएको छ । गएको असार २९ गतेदेखि कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरुले पर्सिदेखि दोस्रो डोज पाउने स्वाथ्य मन्त्रालय अन्तरगतको स्वास्थ्य सेवा विभागले जनाएको छ । खोपको पहिलोमात्रा लगाएर २१ दिन पुरा भएका व्यक्तिहरुलाई दोस्रो मात्रा दिन लागिएको जिल्ला स्वास्थ्य कार्यलय काठमाडौंले जनाएको छ ।
पहिलो डोज लगाएका ५५ वर्षदेखि माथिका नागरिकलाई २१ दिनपछि दोस्रो डोज दिन लागिएको हो । यस्तै, अहिलेसम्म खोप नलगाएका व्यक्तिले खोपका लागि स्वास्थ्य मन्त्रालयको वेभसाइटमा अनिवार्य नाम दर्ता गर्नु पर्ने विभागले जनाएको छ । मन्त्रालयले यसकै आधारमा तोकेको लक्षित समूहभित्रका व्यक्तिलाई खोपको व्यवस्था गर्ने स्पष्ट पारेको छ ।
यस्तै, आजदेखि विदेश जाने नेपाली नागरिकले खोप लगाएको विद्युतीय प्रमाण पत्र क्यूआर कोडसहितको कीर्तिपुर नगरपालिकामा रहेको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रबाट पाउने भएका छन् । यो सेवा अन्य जिल्लामा पनि विस्तार गर्दै लैजाने र पूर्ण खोप लगाएका व्यक्तिलाई क्यूआर कोडसहितको विद्युतीय प्रमाण पत्र उपलब्ध गराउने विभागले जनाएको छ ।