भैरहवा । अंकमा लक्की मानिन्छ सात अथवा सेभेन । कुनै चिट्ठा खेल्दा, वाजी लगाउंदा वा अन्य कुनै खेल खेल्दा मानिसले सात अंक रोज्ने गरेको त हामीले सुनकै छौं । सात अंक कतिलाई फाप्यो फापेन हामी यसै भन्न सक्दैनौं । तर बुटवलको सुख्खानगरका पदमलाल पौडेल र उनका परिवारका लागि वेड नम्बर सात निकै लक्की सावित भएको छ ।
कोरोना संक्रमण भएर विभिन्न अस्पताल हुदै भैरहवास्थित युनिभर्षल मेडिकल कलेज पुगेर कोरोना आईसियुको वेड नम्बर सेभेनमा भर्ना भएका पौडेल ६२ दिनपछि निको भएर परिवारसंगै घर फर्किएका छन् ।
जब पौडेल कोरोनाका कारण सिकिस्त थिए त्यो वेला रुपन्देही लगायत देशभरका सबै अस्पताल कोरोनाका विरामीहरुले खचाखच थिए । अक्सिजनको अभाव, शैया अभावका कारण दैनिक संक्रमितले मृत्यु वरण गरिरहेका थिए । पौडेल भन्छन् “मेरै छेउबाट दैनिक सातदेखि आठजनालाई सेतो प्लाष्टिकले बेरेर निकालिन्थ्यो । मैले त पुर्नजन्म पाएं । ” त्यो देखेर अतालिन्थे उनी । तर हिम्मत चाही हारेनन् ।
उनको अवस्था देखेर आफन्त, साथीभाईले काठमाडौं लैजान सुझाव दिए । तर सामान्य परिवारका लागि हेलिकप्टर चार्टर गरेर काठमाडौं लैजाने कुरा दिवा सपना जस्तै थियो । पदमकी श्रीमति पुष्पा पौडेलका आंखा कुनैदिन ओभानो भएनन् । तर पनि विरामी श्रीमान् काे मनोवल कमजोर हुन्छ सोचेर पुष्पा सधै बाहिरी हांसो हांसिरहिन । श्रीमान् ६२ दिनसम्म अस्पतालमा बस्दा एक सेकेण्ड पनि छोडिनन् उनले । लगातार श्रीमान् काे स्याहार सुसारमा लागिरहिन् । उनी भन्छिन् आज त म यति खुशी छु कि घर पुगेर ढोकालाई ढोगेर मात्र भित्र पस्छु ।

पुष्पाको दृढ शंकल्प, चिकित्सक तथा नर्सको अथक प्रायास र विरामीको आत्मविश्वासका कारण ६२ दिनपछि विरामीलाई निको गराएर डिस्चार्ज हुने अवस्थामा पुगेको उपचारमा संलग्न चिकित्सक डा.पवन वराल बताउंछन् ।
कोरोनाका विरामीका लागि औषधी संगसंगै हेरचाहको राम्रो व्यवस्था भएका कारण मेलिकल कलेजमा आउने सिरियस विरामी समेत निको भएर फर्किने आईसियु ईन्चार्ज सृजना ढकालको दावी छ । उनी भन्छिन् “जुनसुकै विरामीको लागि नर्सिङ्ग केयरले महत्व राख्छ, जुन हाम्रो मेडिकल कलेजमा छ । ”
कोरोनाका विरामीहरुको सेवामा महिनौसम्म खटेकी युसिएमएसकै नर्स रिता खनालले पनि वेड नम्बर सातमा राखेर उपचार गरिएका सबै विरामी निको भएको दावी गरिन् । उनी भन्छिन् “ मेरा श्रीमान् लाई पनि कोरोना संक्रमण भयो, उहांको अवस्था पनि क्रिटिकल नै थियो । मैले सोही वेडमा उपचार गराएर उहांलाई घर फर्काएं । अहिले पदम दाई पनि निको हुनुभयो । मलाई लाग्छ वेड नम्बर सेभेन लक्की वेड नै हो ।”
यस क्षेत्रकै ठुलो शिक्षण अस्पतालका रुपमा रहेको युनिभर्षल मेडिकल कलेजमा १० वेड आईसियु सहित १ सय वेडको कोरोना अस्पताल संचालनमा छ ।
पछिल्लो समय अस्पतालमा कोभिड संगसंगै पोष्टकोभिडका विरामीको चांप बढिरहेको अस्पतालका सुचना अधिकृत शुशिल गुरुङ्गले बताए । कोभिड संक्रमण भएका वि।रामीहरुमा संक्रमणपछि निमोनियाका कारण फोक्सो कलेजो जस्ता अंगहरुमा समस्या दखिने र उनीहरुलाई लामो समय आईसियुमा राखेर उपचार गर्नुपर्ने भएकोले पोष्ट कोभिड आईसियुमा विरामीको संख्या बढेको उनको भनाई छ ।
सरकारले संचालन गरेका कोरोना विषेश अस्पतालमा संक्रमित अवस्थामा मात्र उपचार गर्ने हुंदा पोष्टकोभिडका विरामीलाई समस्या भएको छ । पोष्टकोभिडका विरामीको उपचार आईसियुमा राखेर लामो समयसम्म रहने हुंदा कम आयस्रोत भएका परिवारका लागि यो अर्को जटिल समस्याका रुपमा देखा परेको छ ।