भैरहवा । नेवार समुदायको संस्था नेवाखल सिद्धार्थनगर द्वारा शुक्रबार भैरहवामा गठांमो ( घण्टाकर्ण) पर्व मनाईएको छ ।
साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा आज नेवार समुदायमा घर शान्तिको कामना गर्दै गठांमो अर्थात घण्टाकर्ण पर्व मनाइउने गरिन्छ । यो पर्व नेवारहरुको मौलिक पर्व मध्येको एक हो । वर्षको चारवटा प्रमुख चतुर्दशी घण्टाकर्ण चतुर्दशी, बाला चतुर्दशी, तिहारको काग चतुर्दशी र शिवरात्री चतुर्दशीमध्ये घण्टाकर्ण चतुर्दशी नेवार समुदायले मात्र मनाउने भएकाले यसलाई नेवार समुदायको मौलिक पर्वका रूपमा लिने गरिएको खलका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले बताए ।

यस दिनमा आफ्नो घर गृह शान्तिको कामना गर्दै आफ्ना परिवारलाई रोग व्याधी नलागोस् भनेर घण्टाकर्णको पूजा गरिन्छ । घर र परिवारलाई भूतप्रेत नलागोस् भनेर बौ वाय् ज्या (भूत मन्छाउने कार्य) यो पर्वको मौलिक परम्परा रहेको सिद्धार्थनगर नगरपालिका वडानम्बर ७ का वडा अध्यक्ष भिमसेन कर्माचार्यले जानकारी दिए ।
गठांमो( घण्टाकर्ण) पर्वको राजनीतिक सांस्कृतिक, धार्मिक, सामाजिक तथा ऐतिहासिक महत्व रहेकोले यसको संरक्षणका लागि पनि परम्परागत पर्व मनाईनु पर्ने खलका सल्लाहकार तथा साहित्यकार विजय गोविन्द श्रेष्ठले जानकारी दिए । उनका अनुसार आर्य समुदायले अनआर्य सामुदायमाथि गरिएको दमनको प्रतिकको रुपमा समेत यसको पौराणिक कथा जोडिएको छ ।
कानमा घण्टा झुण्ड्याएर हिंड्ने राक्षसको पूजा गर्ने भएकाले यसलाई घण्टाकर्ण पर्व भनिएको हो । घण्टाकर्णलाई शिवको प्रतीकका रूपमा पनि लिइन्छ । पौराणिक कथनअनुसार महाभारत कालमा कृष्ण र वाणासुर राक्षसको युद्ध हुंदा वाणासुर राक्षसले कृष्णलाई हराउन महादेवको सहयोग माग्दछ । शिवभक्त वाणासुरको पुकार सुनेर महादेवले वाणासुरलाई सहयोग गर्ने वचन दिन्छन् तर कृष्णसंग युद्ध गर्न महादेवलाई नैतिक सङ्कट परेपछि उनले घण्टाकर्णको रूप धारण गरेको पौराणिक कथन रहेको साहित्यकार श्रेष्ठले बताए ।
गठांमो( घण्टाकर्ण) पर्वले मानिसमा भएको नकारात्मक सोच र व्यवहार परिवर्तन गर्न उत्प्रेरणा मिल्ने तथा व्यक्ति, परिवार, समाज र देशमा शान्तिको कामना गर्ने समेत श्रेष्ठले बताए । घण्टाकर्णमा पुजा गर्दै कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ बुंद रानाले गठांमो पर्वले विश्वमाहामारीका रुपमा फैलिएको कोरोनालाई परास्त गर्न जोस जांगर र शक्ति मिलोस भन्ने कामना गरे । संस्कृति राष्ट्रकै सम्पत्ती भएका कारण यसको संरक्षणमा जुट्नु सबैको दायित्व रहेको बताए ।
कार्यक्रममा भैरहवा मर्निङ्गवाक समुहका अध्यक्ष ओमकार गौचनले नेवार समुदाय संस्कृतिको धनि समुदाय भएको भन्दै भैरहवामा खलले गरेका हरेक गतिविधिले धार्मिक तथा सांस्कृतिक संरक्षणमा टेवा पुगिरहेको बताए । यो पर्वले सबै प्राणीको कल्याण गर्ने गौचनले विश्वास व्यक्त गरे ।

यस्तै कार्यक्रममा साहित्यकार वनमाली निराकारले नेपाल बहुधार्मिक,बहुसांस्कृतिक,बहु भाषिक देश भएका कारण हरेक समुदायका चाडपर्व, रितीरिवाजका सकारात्मक पाटाहरुलाई सम्बद्धर्न गर्नु पर्ने बताए । लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केशीले शुभकामनामा व्यक्त गर्दै यस पर्वले सामाजिक सद्भाव कायम गर्दै रोगव्याधीको नष्ट हुने बताए ।
खलका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठको अध्यक्षता तथा प्राज्ञ बुंद रानाको प्रमुख आतिथ्यतामा भैरहवाको मिलचोकमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको संचालन खलका सचिव शेखर बज्राचार्यले गरेका थिए । सो अवसरमा खलका पदाधिकारी ,सदस्य विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । चोकमा राखिएको घण्टाकर्णलाई आहोर दोहोर गर्नेहरुले निकै रोचक मानेर हेरिरहेका देखिन्थे ।
यो समुदायमा आजैका दिन बौ वाय् ज्या सँगसंगै घरघरको मूल ढोका र मुख्य निदालमा पञ्चरङ्गी मयुरको प्वाँख र तीन खुट्टे फलामको किला ठोक्ने चलन छ । यसले घरमा भूतप्रेत पस्न सक्दैन भन्ने जनविश्वास रहेको छ । घरका साना केटाकेटीलाई फलाम वा तामाको औंठी लगाइदिने चलन पनि रहेको छ । वयस्क युवतीहरुले आजको दिन विशेषगरी खुट्टामा विभिन्न प्रकारका टाटु खोप्ने प्रचलन पनि रहेको छ ।
त्यसैगरी साँझपख घरघरबाट छ्वाली प्वाः वायगु ज्या (छ्वालीको मुठा बालेर दोबोटोमा लगेर राख्ने) गरिन्छ । छ्वालीको मुठामा कर्कलो, सिस्नो, मकैको घोगा, आरुको बोटको हाँगा, धुं स्वां र बौ स्वां नामको विशेष प्रकारको फूलसमेत राखेर सो छ्वालीको मुठालाई बालेर घरको माथिल्लो भागदेखि तल्लो भाग छिंडीसम्म परिक्रमा गराई छ्वास (नेवार समुदायको मानिस मर्दा उसको लुगा फाल्ने ठाउँ) मा लगेर सेलाउने गरिन्छ । यसअघि घरका सम्पूर्ण झ्याल ढोकाको कुनाको माटो झिकेर सो माटो झिकेको सानो प्वालमा जौ, तोरीको गेडालगायतका वस्तु राखेर गोबरले लिप्ने प्रचलनसमेत रहेको छ ।
नेवार समुदायमा रोपाईं सकेपछि घर सफा गर्ने, हिलो पखाल्ने पर्वका रूपमा “सिनाज्या ब्यंकेगु” पर्व मनाइने गरिन्छ । गठांमो पर्वसंगै नेवारी समुदायमा परम्परागत नाच तथा बाजागाजा सिकाउन सुरु गरिन्छ । नेवारी समुदायले गाईजात्राका बेला प्रदर्शन गरिने विभिन्न भैरव नाच, व्यङ्ग्यले भरिपूर्ण नाटकको प्रशिक्षण समेत गठांमोसंगै सुरु गरिन्छ ।