Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

कर्मचारीको नयाँ तलबमान स्वीकृत, साउन १ गतेदेखि नै लागू हुने मन्त्रिपरिषद्काे निर्णय


  • लुम्बिनी चिन्तन
  • श्रावण २५, २०७८ सोमवार
  • 710
    SHARES

कर्मचारीको नयाँ तलबमान स्वीकृत, साउन १ गतेदेखि नै लागू हुने मन्त्रिपरिषद्काे निर्णय

काठमाण्डौ । सरकारले चालु आर्थिक वर्षमा वृद्धि भएको नयाँ तलबमान यही साउन १ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । 

बैठकले सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा पालिका तहका कर्मचारीका लागि नयाँ तलबमान स्वीकृत गरेको हो ।

यसैगरी बैठकले नेपाल कृषि तथा वन सेवातर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा बढुवा समितिको यही साउन २४ को सिफारिसअनुसार राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव गोविन्दप्रसाद शर्मालाई बढुवा गरी कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको सचिवमा पदस्थापन गर्ने निर्णय गरेको छ ।  

मन्त्रिपरिषद् बैठकले हेलो सरकार गुनासो व्यवस्थापन निर्देशिका २०७८ छलफलका लागि मन्त्रिपरिषद्को प्रशासन समितिमा, विशेष आर्थिक क्षेत्र पहिलो संशोधन नियमावली २०७८ छलफलका लागि मन्त्रिपरिषद्को आर्थिक तथा पूर्वाधार समितिमा र सैनिक सेवा चौथो संशोधन नियमावली २०७८ छलफलका लागि मन्त्रिपरिषद् विधेयक समितिमा पठाउने निर्णय गरेको उनले बताए ।

सरकारले माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउन त्यही आयोजनाका सहायक प्रशासकीय अधिकृत कमलबहादुर बोगटीलाई प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने निर्णय गरेको छ ।

यस्तै नेपाल परराष्ट्र सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका उपसचिव सुधीर भट्टराई, घनश्याम लम्साल र तेजबहादुर क्षेत्रीलाई नेपाल परराष्ट्र सेवा राजपत्राङ्कित प्रथम श्रेणीमा बढुवा तथा नियुक्त गरी परराष्ट्र मन्त्रालय वा अन्तर्गत पदस्थापना गर्ने निर्णय गरेको छ । त्यही अवसरमा मन्त्री कार्कीले सरकारले आगामी दिनमा मन्त्रिपरिषद् बैठकको निर्णयका सूचना हप्ताको एक पटक दिइने जानकारी दिए  ।

मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरु बुदागत

  • हेलो सरकार गुनासो व्यवस्थापन निर्देशिका, २०७८ छलफलका लागि मन्त्रिपरिषद प्रशासनमा पठाउने।
  • सबै तहका निजामति कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाल स्वास्थ्य सेवा, संसद सेवामा कार्यरत कर्मचारी, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा स्थानीय तहका कर्मचारीका लागि २०७८ साउन १ देखि लागू हुने गरी नयाँ तलबमान स्वीकृत गर्ने।
  • विशेष आर्थिक क्षेत्र पहिलो संशोधन नियमावली-२०७८ को छलफलका लागि मन्त्रिपरिषद आर्थिक तथा पूर्वाधार समितिमा पठाउने।
  • माथिल्लो त्रिशुली ए जलविद्युत आयोजनाको जग्गा प्राप्ति गर्ने कार्यका लागि सोही आयोजनाका सहायक प्रशासक कमल बहादुर बोगटीलाई प्रारम्भिक कारबाही चलाउने अधिकारी चयन।
  • नेपाल परराष्ट्र सेवा राजपत्रांकित द्वीतीय तहका उपसचिव सूर्य भट्टराई, घनश्याम लम्साल र तेजबहादुर क्षेत्रीलाई परराष्ट्र सेवाको प्रथम श्रेणीको पदमा बढुवा गरि परराष्ट्रमा पदस्थापना गर्ने।
  • सैनिक सेवा चौथो संशोधन नियमावली—२०७८ लाई छलफलका लागि विधेयक समितिमा पठाउने।
  • कृषि तथा वन सेवा तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदका गोविन्दप्रसाद शर्मालाई बढुवा गरी कृषि तथा पशुपन्छि विकास मन्त्रालयको सचिव चयन।


लुम्बिनी चिन्तन

थप समाचार