भैरहवा । ओभरलोड मालवाहक गाडी नेपाल प्रवेश गरेको भन्दै यातायात व्यवसायीले भारतिय गाडी बेलहिया वाइपासमा रोकेका छन ।
भन्सार विन्दुमा भारवहन क्षमता मिलाई मात्र नेपाल प्रवेश दिनु पर्ने व्यवस्था रहे पनि क्षमता भन्दा दोब्बर लोड बोकी निर्वाध रुपमा भारतीय मालवाहक गाडीले सामान ओसारपसार गरेको भन्दै पश्चिमाञ्चल यातायात व्यवसायी समितिले बेलहिया वाइपासमा दर्जनौ गाडी रोकेको हो ।
नेपालमा ३० टन भन्दा बढि क्षमताको कुनै पनि गाडी चलाउने व्यवस्था कानुनले गरेको छैन, तर भन्सार विन्दुबाट नै ७१ टन सम्मको गाडी नेपाल प्रवेश गरेको छ, यसले हामी मर्कामा परेका छौ पश्चिमाञ्चल यातायात व्यवसायी समितिका उपाध्यक्ष अर्जुन भुसालले भने ।

नेपाली नियामानुसार गाडी चलाउनु पर्ने, नेपालमा नेपाली गाडीले ढुवानी गर्न पाउनु पर्ने, भारतीय गाडीले नेपालभरी निर्वाधरुपमा ओभरलोड सहित ढुवानी गरेर यातायात व्यवसायी बेरोजगार हुन पर्ने अवस्था छ उनले भने । देश भित्रै ढुवानी गर्ने नेपाली नम्बर प्लेटका ट्रकलाई ओभरलोडको नाममा कडाई गर्ने, प्रहरीले भारतबाट आउने भारतीय गाडीमा ओभरलोड छुट दिएको कारण कानुन सबैकोलाई समान हुनुपर्छ उपाध्यक्ष भुसालले भने ।
सम्बन्धित कार्यालयलाई कयौं पटक ओभरलोड रोक्न पत्राचार गरे पनि मौन रहेकोले गाडी रोक्नु पर्ने अवस्था आएको हो । कि हामीलाई पनि ओभरलोड बोक्न दिनु परयो, हाम्रो गाडी मरेको मरै, भारतीय गाडी चलेको चल्यै भयो । उपाध्यक्ष भुसालले भने ।
सोमबारबाट ओभरलोडका गाडी रोकेका छौ, भारवाहन क्षमता भन्दा केही मात्र बढि भएको १४६ वटा गाडी मंगलबार छाडेका छौ , अझै ३ दर्जन भन्दा बढि ट्रकहरु क्षमताको दोब्बर भार बोकेकोले नियामानुसार जरिवाना काटेर मात्र नेपाल प्रवेश गर्न व्यवसायीले ट्राफिक कार्यालयलाई अनुरोध गरेका छन ।
यता भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी तिर्थराज पासवानले भन्सार ऐन र आर्थिक ऐनले ओभरलोडबारे केही नभनेको कारण रोक्न नमिलेको बताए । ओभरलोड हामीले भन्दा पनि अन्य निकाय प्रहरी प्रशासनले हेर्नू पर्ने हो उनले भने ।
यता जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका निमित्त प्रमुख प्रहरी नायब निरिक्षक दामोदर मल्लले भन्सार विन्दुमा नै भार मिलान गर्नु पर्ने बताए । २०७१ सालमा भौतिक पूर्वाधार मन्त्रालयमा भएको निर्णयले भन्सारमा विन्दुमै भार मिलान गरी पठाउने निर्णय छ, भार मिलान गर्न नसकिने गाडीहरुको सन्दर्भमा यातयात व्यवस्था कार्यालयबाट अनुमति लिई तोकिएको शुल्क जरिवाना वापत तिरेर पठाउने व्यवस्था छ ।

१७ टन बोक्नेले ७१ टन बोकेर आएको पाएका छौं । हामीले अहिले सम्म ५ सय देखि २ हजार सम्म जरिवाना काट्न मिल्छ, अहिले सम्म १५ सय काटिरहेको थियो मंगलबारबाट २ हजार जविाना काट्छौ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को १०७ २ क अनुसार सो जरिवाना गर्न पाउने व्यवस्था छ । मल्लले भने
यातायात सम्बन्धी प्रचलित कानुन अनुसार ६ चक्के ट्रकले ९ दशमलव ६ टन, १० चक्के ट्रकले १६ दशमलव २ टन, १२ चक्के ट्रकले २१ टन र १४ चक्के ट्रकले २५ टन भन्दा र १८ चक्केले ३० टन भन्दा बढी भार बोक्न पाउदैनन् । नेपालमा ३० टन भन्दा बढी भार बोक्नै पाईदैन ।
ओभरलोड कसले नियन्त्रण गर्ने भन्ने नै अन्यौलता छ । ट्राफिक प्रहरीले भन्सार कार्यालयले नै भारमिलान गरि मापदण्ड अनुसारको तौल भएको गाडीको मात्र जाचपास गरिदिनु भन्ने ब्यवस्था छ भने पनि भन्सारले यसको सम्पूर्ण जिम्मा ट्राफिक रहेको बताउदै आएको छ । जरिवाना काट्नु मात्र समाधान होइन, उद्योग वाणिज्य संघ, भन्सार तथा सरोकारवाला निकायले ओभरलोडको समस्या समाधान गर्नु पर्छ । यसले सरकारले अर्बौ रुपैया लगाएर निर्माण गरेको सडक तथा पूर्वाधारहरु भत्किरहेको छ ।