भैरहवा । दिप ज्योति महिला सचेतना समुह सिद्धार्थनगरको आयोजनामा नेतृत्व विकास तालिम भैरहवामा सम्पन्न भएको छ ।
आफ्ना सदस्यहरुको सिप विकास संगसंगै नेतृत्व सम्हाल्ने क्षमताको विकास गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको समुहका अध्यक्ष शान्ति अधिकारीले जानकारी दिईन् ।
तालिममा समुहका पदाधिकारी, सदस्यहरुको सहभागिता रहेको थियो । सो अवसरमा सहभागीहरुलाई नमुना एकीकृत विकास परिषद्का अध्यक्ष ज्ञानु पौडेलले प्रशिक्षण दिदै महिलाहरुले आफ्नो सिपलाई बजारसंग जोडेर आयआर्जन गर्न सक्ने क्षमताको विकास गनुपर्ने बताईन् ।
कार्यक्रममा सहभागीहरुलाई विभिन्न समुहमा विभाजन गरी कार्ययोजना तर्जुमा, योजना प्राथमिकीकरण, बजेट व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा गृहकार्य गराईएको थियो ।

महिलाहरुले घरमै बसेर पनि सिलाई कटाई, हस्ताकलाका सामानहरु सुत्केरी प्याकेज,माक्स, किचनमा प्रयोग हुने सामग्री निर्माण गरी बजारमा पुर्याउन सकेमात्र पनि आत्मनिर्भर बन्न सकिने बताईन् । दिप ज्योति महिला सचेतना समुहले कोषवृद्धि गरी विभिन्न सामाजिक क्रियाकलापहरु गर्दै आईरहेको अध्यक्ष अधिकारीले बताईन् ।
सिद्धार्थनगर वडा नम्बर ८ मा कार्यालय रहेको दिप ज्योतिले नगरका सबै वडामा रहेका महिलाहरुलाई आवद्ध गर्ने लक्ष्य लिएको अध्यक्ष अधिकारीको भनाई छ ।

३७ जना सदस्य रहेको समुहले आफ्ना हरेक सदस्यहरुलाई नेतृत्वसम्म पुग्न सक्ने र आफुबाटै म नेतृत्व गर्न सक्छु भन्ने आत्मविश्वासको विकास गराउने उद्देश्य लिएको छ ।