बुद्ध जन्मस्थल लुम्बिनी मायादेवी मन्दिर साढे तीन महिनापछि खुलेकाे छ । कोरोना महामारीका कारण बन्द गरिएको मायादेवि मन्दिर पर्यटक, तीर्थयात्री र श्रद्धालुहरूका लागि खुलेको लुम्बिनी बिकास कोषले जनाएको छ। स्वास्थ्य मापदण्ड अपनाएर सबैले मन्दिर अवलोकन गर्न पाउने भएका छन ।
सरकारले औपचारिक रुपमा मठ मन्दिरहरु नखोलेपनि लुम्बिनी बिकास कोषले पर्यटकहरुको मागलाई ध्यानमा राखेर रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको उपस्थितिमा लुम्बिनीको मायादेवि मन्दीर खुला गरिएको कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले जानकारी दिए।मन्दिर खुलेसँगै लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल श्रीमती एवं सांसद सुजिता शाक्यसँग यहाँ आएर पूजाआजा गरेका छन । मन्दिर खोलिएसँगै लुम्बिनीमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।

मन्दिर खाेलेकाे पहिलाे दिन ६ सय जनाभन्दा धेरै आन्तरिक पर्यटकले मन्दिर अवलोकन गरेका छन् । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पर्यटकलाई मन्दिर प्रवेश खुला गरिएको हो । डेढ–डेढ मिटरको दूरीमा लाइन लगाएर शरीरको तापक्रम नापी प्रवेश दिइएको छ । सेनिटाइजर र मास्क नलगाई आउनेलाई प्रवेश निषेध गरिएको छ । मायादेवी मन्दिर र मन्दिर परिसरमा रहेका अशोक स्तम्भ, पुष्करणी पोखरी, स्तुप, बिहारका भग्नावशेष र प्राचीन इनार अवलोकन गरी पर्यटक फर्कने गरेका छन् । रुचि हुने व्यक्ति ध्यानसमेत बस्ने गरेका छन् । लुम्बिनी विकास कोष सचिवालयको बैठक बसेर मन्दिर खुला गरिएको कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले बताए । ‘संवेदनशील ठाउँ भएकाले सचेत छौं,’ उनले भने, ‘सुरक्षा सतर्कताका साथ एक पटकमा सीमित व्यक्तिलाई मन्दिरभित्र प्रवेश दिएका छौं ।’
उनले सुरक्षा सतर्कताका साथ एक पटकमा सिमित व्यक्तिलाई मात्र मन्दिरभित्र प्रवेश दिएको बताए। केन्द्रीय नहरमा डुंगा सलन पनि सुरु भएको छ ।

मन्दिर खुले पनि यहाँका विहार भने खुलेका छैनन् । क्रमशः विहार, गुम्बा, चैत्य र मन्दिर खोल्नेतिर ध्यान दिनुपर्ने स्थानीय होटल व्यवसायी किरणचन्द्र पौडेलले बताए । ‘हामी पनि स्वास्थ्य सुरक्षा मापदण्ड कायम गरेर सेवा दिन तयार भएर बसेका छौं,’ उनले भने, ‘यसका लागि कोषले वातावरण बनाइदिन पर्यो ।’ मायादेवी मन्दिर खोल्न यहाँका पर्यटन र होटल व्यवसायीले दबाब दिएका थिए । मन्दिर पूर्ण रूपमा सञ्चालन गर्न कोषले आन्तरिक तयारी पूरा गरेको जनाएको छ ।
कोरोना भाइरस संक्रमणको पहिलो लहरमा यहाँ होटल तथा रेन्टुरेन्ट करिब ८ महिना बन्द भएका थिए । व्यवसायीले ८० करोड बढी नोक्सान व्यहोरेको बताएका थिए । यहाँ सामान्यदेखि तारेसम्मका ८० होटल छन् । लुम्बिनीमा स्वदेशी र विदेशी पर्यटक एवं तीर्थयात्री बर्सेनि १६ लाखको हाराहारीमा आउने गरेका छन् । सन् २०१९ मा १ सय १५ मुलुकका ३ लाख ८० हजार विदेशी र ११ लाख ७८ हजार आन्तरिक गरी १५ लाख ५८ हजार पर्यटक यहाँ आएका थिए ।