भैरहवा । निर्माणको अन्तिम चरणमा पुगेको भैरहवा–तौलिहवा सडक ठाँउ ठाँउमा भत्किएपछि अख्तियारले छानविन सुरु गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रिय कार्यालयले सोमबार उक्त सडकको गुणस्तर छानवीन गर्नका लागि सेम्पल लिएको हो । इन्जिनियर सुदीप आचार्यको नेतृत्वमा चार सदस्यीय टोलीले सडकको गुणस्तर छानविन थालेको छ ।
पिचीङ भएको केही महिना नहुदै सडक ठाउँ–ठाउँमा भत्किएका र दबिएको छ । गुण्स्तरमा प्रश्न उठेपछि अख्तियार टोलीले गुणस्तर जाँचका लागि सडकमा प्रयोग गरिएको सामग्री (मेट्रियल)को नमूना संकलन गरी लगेको छ ।
नमूना संकलनमा खटिएका इन्जिनियर आचार्यले सडक खण्डको ठाउँ–ठाउँबाट नमूना लिएर गुणस्तर परिक्षण गरिने बताए । पाँच वर्ष टिकाउ हुने भनिएको यो सडकखण्ड निर्माणको केही महिनामै भत्किना लगेको छ । अख्तियारले ठेकेदार, परामर्शदाता, आयोजना कार्यालयलाई समेत स्थलगतरुपमै सँगै लिएर नमूना लिइरहेको हो ।
राष्ट्रिय प्राथमिकताको आयोजना मध्येको यो आयोजना २०२० जनवरी १२ मा सम्पन्न गर्ने लक्ष्यका साथ गावर कन्सट्रक्सन लिमिटेड गुणगाँव भारतले काम गरेको हो । ४१ दशमलव १३० किलोमिटर लामो रहेको यो सडकको भैरहवा बुद्ध चोक देखि एयरपोर्ट सम्म ३ दशमलव ६८ किलोमिटर ६ लेन, एयरपोर्ट देखि लुम्बिनीको पर्सा चौराहा सम्म १४ दशमलव ४२० किलोमिटर ४ लेन र बाँकी पर्साचोक देखि तौलिहवा सम्मको २३ दशमलव ०३० किलोमिटर २ लेनको सडक निर्माण भएको छ ।
एसियाली विकास बैंकको ऋण सहयोगमा थालिएको यस आयोजनाको सूरुको लागत १ अर्ब ९३ करोड ६ लाख ३६ हजार २ सय २७ रुपैया ५५ पैसा भए पनि २ पटकको कामको अन्तर पछि २ अर्ब १६ करोड ८५ लाख को लागतमा निर्माण भएकोे हो ।