भैरहवा । लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशन ६ मिनेट बसेर स्थगित भएको छ । प्रतिपक्षी दल नेकपा एमालेले आफ्ना २ सांसदलाई कारबाहीका लागि पठाइएको पत्रमाथि सभामुखले कारबाही अघि नबढाएपछि बैठक स्थागित भएको हो ।
बैठकको सुरुमै एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले कारबाहीका लागि पठाइएको पत्रमाथि कारबाही अघि नबढाएसम्म बैठक चल्न नदिने उल्लेख गरे पनि प्रतिपक्षी दलको अवरोध पछि पनि २ वटा कार्यसूची माथि कारबाही गर्दै आजको बैठक स्थगित भएको हो ।
विपक्षी दलहरुले विरोध स्वरुप आफ्नो ठाउँबाट उठेर टेबल ठटाउँदै विरोध जनाए पनि सभामुखले प्रदेशप्रमुखले नवौं अधिवेशनका लागि आह्वान गरेको पत्र पढेर सुनाएका थिए । यसैगरी प्रदेश प्रमुख अमिक शेरचनले नियुक्त गरेका मुख्यमन्त्री कुलप्रसाद केसीको नेतृत्वमा गठित मन्त्रीहरुको नाम पढेर सुनाएका थिए । बैठक बुधबार दिउसो १ बजे बस्नेगरी स्थागित भएको छ ।