भैरहवा । रुपन्देहीको पक्लिहवा स्थित कृषि तथा पशु बिज्ञान अध्ययन संस्थान परिसरमा १८ महिनाभित्र भेटेनरी शिक्षण अस्पताल निर्माणको थालनी गर्ने सहमति भएको छ ।
क्याम्पस परिसरमा बनाउनु पर्ने भेटेनरी शिक्षण अस्पताल अन्यत्र स्थानान्तरण गर्न खोजेको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका थिए । सोही विषयमा सरोकारवाल निकाय बिच छलफल पछि सोमबार स्थानिय र क्याम्पस प्रमुख बिचमा ३ बुँदे सहमति भएको हो ।
स्थानीय आन्दोलनरत पक्ष तथा क्याम्पस बीच भएको विभिन्न चरणको छलफल पछि पक्लिहवा क्याम्पसको हाताभित्र रहेको भेटेरीनरी शिक्षण अस्पताल (पशुु शिक्षण अस्पताल) को सम्पूर्ण संरचना तयार भइ सञ्चालन नभएसम्म भेटेनरी शिक्षण अस्पताल र यसको युुुनिट, एक्सटेन्सन, कम्युनिटी आउटरिच प्रोग्राम आदिको नाममा अन्य कुनै ठाउँमा निर्माण नगर्ने, नगराउने
पक्लिहवा क्याम्पसको हाताभित्र नै भेटेरीनरी शिक्षण अस्पताल (पशुु शिक्षण अस्पताल) को नयाँ संरचना बनाउने गरी सम्पुर्ण कागजी प्रक्रिया पुरा गरी १८ महिना भित्र निर्माण कार्यको थालनी गर्ने र अब उप्रान्त पक्लिहवा क्याम्पसको विकास, संवद्र्धन, संरक्षण र शैक्षिक वातावरणलाई प्रभावकारी बनाउन स्थानीय सरकार, स्थानीय सरोकार राख्ने पक्षहरुको प्रत्यक्ष सहभागितामा त्रिभुवन विश्वविद्यालय विकेन्द्रीकरण नियमानुसार ‘व्यवस्थापन समिति’ गठन गरिने गरी सोमबार क्याम्पस प्रशासन, स्थानीय जनप्रतिनिधि र नयाँ रानीगाउँ दुर्गा मन्दिर समाजबीच ३ बुंदे सहमति भएको संघर्ष समितिका संयोजक सुशील गुरुङले जानकारी दिए ।

सहमतिमा पक्लिहवा कृषि क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख सह–प्राध्यापक डा. राम भजन मण्डल, भेटेरीनरी शिक्षण अस्पतालको तर्फबाट सह–प्राध्यापक डा. कृष्ण काफ्ले, स्थानीयको तर्फबाट नयाँगाउँ रानीगाउँ दुर्गा मन्दिर समाजका अध्यक्ष खुशीमान गुरुङले जनप्रतिनिधी सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष रमेश मल्लको रोहबरमा सहमति गरी हस्ताक्षर गरेका छन ।
सहमतिसँगै आन्दोलकने सबै कार्यक्रम स्थगन भएको संघर्स समितिले जानकारी दिएको छ ।