भैरहवा । नेवा खल सिद्धाथनगरको आयोजनामा सामुहिक सापारु( गाईजात्रा ) एवम्श्रद्धाञ्जलीसभा सोमबार भैरहवामा सम्पन्न भएको छ ।
खलका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठको अध्यक्षता तथा योगगुरु प्रेम नारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वर्षदिनभित्र नेवारी समुदायबाट मृत्युवरण गरेकाहरुको सम्झनामा श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
पुत्र वियोगमा परेकी आफ्नी रानीलाई शोकबाट बाहिर ल्याउन राजा प्रताप मल्लले गाईजात्रा मनाउने चलन सुरु गरेको स्मरण गर्दै खलका सल्लाहकार विजय गोविन्द श्रेष्ठले कोविडको महामारीका कारण यस पटक उत्साहजनक जात्रा निकाल्न नसकिएको बताउनु भयो ।

नेपाल भाषा संस्कृतिको धनि हुंदाहुंदै पनि पछिल्लो समयमा यसको संरक्षणमा ध्यान नदिंदा संस्कार,संस्कृति र जातिय भाषा लोप हुदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । नेवार समुदायले नेवारी भाषा, चार्डपर्व आदिको प्रवद्धन गरी नयां पुस्तालाई आफ्नो भाषा संस्कृतिबारे जानकारी दिन आवश्यक रहेको उहांले बताउनु भयो ।
समग्रमा जन्म र मृत्युबीचको समयमा गरेका पुण्य कामले मानिसलाई सम्झन योग्य बनाउने भएकोले दान, सहयोग,सद्भावसंग बाच्नुपर्छ भन्ने सन्देश गाईजात्राले दिन खोजेको विजय सागर श्रेष्ठको भनाई छ । कर्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रेम नारायण श्रेष्ठले जीवनमा प्राप्त गरेका सबै कुरा समयक्रसंगै छोडिदै जाने यथार्थलाई स्वीकार्ने दिनका रुपमा यस पर्वलाई लिनुपर्ने बताउनु भयो ।

कार्यक्रममा खलका सल्लाहकार मिना श्रेष्ठ, रमेश कुमार राजभण्डारी, भैरहवा मनिङ्गवाक समुहका अध्यक्ष ओमकार गौचन,लुम्बिनी प्रेस क्लबका उपाध्यक्ष सम्झना शर्मा लगायतले बोल्दै नेवा खलले विगतदेखि नै नेवारी परम्पराको जगेर्ना गर्दै आएकोमा प्रशंसा गर्दै दिवंगतप्रति श्राद्धाञ्जली व्यक्त गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ लगायतले एक वर्षभित्र नेवार समुदायमा विभिन्न कारणले मृत्यु भएका यस भैरहवा क्षेत्रका १८ जना दिवंगतप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।
सो अवसरमा गाई पुजा, भजन कृतन, तथा विभिन्न झांकीहरु प्रस्तुत गरिएको थियो । कार्यक्रम संयोजक तथा सिद्धार्थनगर वडानम्बर ७ का वडा अध्यक्ष भिमसेन कर्माचार्यको स्वागत तथा खलका सचिव शुरेश शेखरको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

