भैरहवा । रुपन्देहीको मर्चवारमा दाउरा बटुल्ने क्रममा एक युवालाई खोलाले बगाएको छ ।
दानव खोलामा दाउरा छोप्न गएका सम्मरीमाई ३ पिपरहवाका २३ वर्षिय बब्लु लोधलाई नदीमा आएको भेलले बगाएको हो । शुक्रबार विहान करिब ६ बजे खोलामा बगाएर ल्याएको दाउरा टिप्न जादा लोधलाई बगाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी सत्य नारायण थापाले जानकारी दिए ।
बेपत्ताको खोजीका लागि स्थानीय र प्रहरी खटिएका छन् । त्यस्तै ओमसतिया ३ बडसारी गाँउमा पानीको बहावले गाँउको आवगमन नै बन्द गरेको छ । ६५ घर रहेको सो गाँउको निकास नै वरुद्ध गरेपछि उनीहरुको आवगमन बन्द भएको छ ।

तिलोत्मा १४ भत्केपानीमा ३ वटा कच्ची घर, ओमसतिया १ कोटा गाँउमा १ वटा कच्ची घर, कंचन गाँउपालिका ३ मा १० वटा कच्ची घर, र बुटवल १२मा नालाले एक तल्ले पक्की घर कटान गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
त्यस्तै देवदह ३ बसन्तपुरमा एक बाख्रा फर्ममा क्षति पु¥याएको छ, अविरल वर्षाले फर्मममा पानी पसेपछि त्यहाँ स्थित ३ दर्जन बढि बाख्रा बाढीले बगाएको छ ।
अविरल वर्षाले रुपन्देहीको देवदह, तिलोत्तमाको चिल्हिया, ओमसतियाको बसन्तपुर, मर्चवार, रोहिणीको धकधई लगायतका क्षेत्रका घर डुबानमा परेको छ । स्थानीय र सुरक्षकर्मीको टोली उद्वारमा खटिएका छन । जिल्ला प्रशासन कार्यालय, विपद उद्वार टोली, सुरक्षाकर्मीका प्रमुखहरु, रेडक्रस तथा सामाजिक संस्थाहरु पनि विपद स्थलमा पुगेर उद्वार र अवस्था बारे जानकारी लिइरहेका छन ।