भैरहवा । रुपन्देहीको रोहिणी गाँउपालिका ३ सेमरहवामा शुक्रबार एक्कासी गाँउमा पानी पस्यो । भैरहवा परासी सडक खण्डसँगै रहेको सेमरहवामा करिब ३ दर्जन घर पानीले प्रभावित बने । बिहान करिब ६ बजे गाँउमा पानी पस्न थालेपछि ज्यान जोगाउन कोही हुलाकी सडक तर्फ आए भने कोही घरको माथिल्लो तल्लामा । बाढीले मानवीय क्षति नभएपनि अन्न तथा अन्य सामाग्रीमा क्षति पुगेको छ ।

स्थानीय रमेश कुर्मीका अनुसार अहिले सम्म यस्तो बाढी कहिले आएको थिएन, विहान सम्म सबै ठिक ठाक नै थियो, अचानक ६ बजे पछि यस्तो अवस्था आयो । अन्नहरु भिज्यो, पशु चौपाया पनि निकाल्न पाएनौ कुर्मीले भने । सेमरहवामा मात्रै करिब ३ दर्जन घरको आवगमन बाढीले बन्द हुन पुग्यो । अधिकांस कच्ची घरको अवस्था नाजुक छ, गाँउ नै डुबानमा छ । गााउको अवस्था यस्तो भएपनि विपदको बेला अहिले सम्म कोही गाँउ हेर्न आएको छैन कुर्मीले दुखेसो पोखे ।

अविरल वर्षाका कारणले सेमरहवा मात्र होइन, गुजरपुरवा, धकधई, बसन्तपुर लगायतका क्षेत्रका बस्तीहरुमा पानी पस्दा अधिकांश घर जलमग्न भएका छन् । यस्तै रुपन्देहीको मर्चवारमा दाउरा बटुल्ने क्रममा एक युवालाई खोलाले बगाएको छ । दानव खोलामा दाउरा छोप्न गएका सम्मरीमाई ३ पिपरहवाका २३ वर्षिय बब्लु लोधलाई नदीमा आएको भेलले बगाएको हो ।

शुक्रबार विहान करिब ६ बजे खोलामा बगाएर ल्याएको दाउरा टिप्न जादा लोधलाई बगाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी सत्य नारायण थापाले जानकारी दिए । यस्तै भैरहवा–भुमही मूख्य सडक खण्ड पनि प्रभावित बनेको छ । मूख्य बाटोमै करिब ३ फिट पानी बगेको कारण सवारी आवागमन प्रभावित बनेको छ । मूख्य बाटोबाट आउदै गरेको भारतीय ट्रक पनि पानीले बगाएको छ ।

त्यस्तै ओमसतिया ३ बडसारी गाँउमा पानीको बहावले गाँउको आवगमन नै बन्द गरेको छ । ६५ घर रहेको सो गाँउको निकास नै अवरुद्ध भएपछि उनीहरुको आवगमन बन्द भएको छ । तिलोत्तमा १४ भत्केपानीमा ३ वटा कच्ची घर, ओमसतिया १ कोटा गाँउमा १ वटा कच्ची घर, कंचन गाँउपालिका ३ मा १० वटा कच्ची घर, र बुटवल १२मा नालाले एक तल्ले पक्की घर कटान गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
त्यस्तै देवदह ३ बसन्तपुरमा एक बाख्रा फर्ममा क्षति पु¥याएको छ, अविरल वर्षाले फर्मममा पानी पसेपछि त्यहाँ स्थित ३ दर्जन बढि बाख्रा बाढीले बगाएको छ ।

अविरल वर्षाले रुपन्देहीको देवदह, तिलोत्तमाको चिल्हिया, ओमसतियाको बसन्तपुर, मर्चवार, रोहिणीको धकधई लगायतका क्षेत्रका घर डुबानमा परेको छ । स्थानीय र सुरक्षकर्मीको टोली उद्वारमा खटिएका छन । जिल्ला प्रशासन कार्यालय, विपद उद्वार टोली, सुरक्षाकर्मीका प्रमुखहरु, रेडक्रस तथा सामाजिक संस्थाहरु पनि विपद स्थलमा पुगेर उद्वार र अवस्था बारे जानकारी लिइरहेका छन ।