काठमाडौं । संखुवासभाको मादी नगरपालिका–१, खोलागाउँमा एकै घरका ६ जनाको हत्या भएको छ । स्थानीय तेजबहादुर कार्कीको परिवारका ६ जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी लालध्वज सुवेदी बताए ।
उनका अनुसार ५८ वर्षीय तेजबहादुर कार्कीसहित उनकी आमा ८० वर्षीया पार्वता, ५६ वर्षीय श्रीमती मनमाया, २८ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमा कार्कीको धारीलो हतियार प्रयोग गरी हत्या भएको हो ।
घटनाको थप विवरण आउन बाँकी रहेको उनले बताए । हत्यापछि शवहरुलाई घर वरिपरी फालिएको अवस्थामा स्थानीयले फेला पारेका थिए ।
संखुवासभाको मादी नगरपालिका-१ मा एकै परिवारका ६ जनाको हत्या घटना शंकास्पद देखिएको भन्दै प्रहरीले कुकुरसहितको टोली पठाएको छ। संघीय प्रहरी इकाई धरानबाट एसपी भीम दाहालको नेतृत्वमा कुकुरसहितको टोली खटिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए।
'घटना शंकास्पद छ,' उनले भने, 'घटनाको अनुसन्धान गर्न एसपी साप्'को नेतृत्वमा तालिमप्राप्त कुकुरसहितको टोली घटनास्थलतर्फ गएको छ।' घटनास्थल पुगेको प्रहरीको टोलीले शवको प्रकृति हेर्दा शंकास्पद देखिएको बताएपछि कुकुरसहितको टोली परिचालन गरिएको राईले बताए।
घटनास्थलमा इलाका प्रहरी कार्यालय चैनपुरबाट प्रहरी निरीक्षकको टोली घटनास्थल पुगेर शव फेला परेको स्थानलाई घेरर राखेको मादी नगरपालिकाका प्रमुख विदुरकुमार लिङ्थेपले बताए। 'शव घोप्टो परेको अवस्थामा छ, प्रहरीले शव वरपर घेरेर मात्रै राखेको छ। थप केही भएको छैन,' उनले भने। प्रहरीले कुकुरसहितको टोलीलाई पर्खेर बसेको नगर प्रमुख लिङ्थेपले बताए।