भैरहवा । विश्वकर्मा भगवानको विधिपूर्वक पूजा आराधना गरी विश्वकर्मा पुजा गरिएको छ । कालिगढले विश्वकर्माको पूजा–आराधना गरी विश्वकर्मा दिवस मनाएका हुन । दिवसको अवसरपारेर कलकारखानालाई विशेष रुपमा सजाएर मजदूरलाई समेत सहभागी गराएर पूजा गरिएको छ । कालिगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा–आराधना गरेमा धेरै समय टिक्ने, कामका वेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।
विहानैदेखि उद्योग, कलकारखाना तथा घरघरमा आ–आफ्नो मेसिनरी सामग्री सफाइ गरेर पूजा गरिँएको छ । शिल्प संकायहरू, कारखानाहरू, उद्योगहरूमा भगवान विश्वकर्माको महत्त्वलाई प्रकट गर्दै प्रत्येक वर्ष १७ सेप्टेम्बरलाई श्रम दिवसका रूपमा पनि मनाउने गरिन्छ । विश्वकर्मालाई विश्वकै पहिलो इन्जिनियर र वास्तुकार मानिन्छ । विश्वकर्मा पूजा गर्दा उद्यम गर्नेलाई उत्साह दिने र आउने समस्याहरु समाधान हुने विश्वास छ ।
द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरूले दुःख दिएपछि विश्वकर्माले समुद्रका बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रका बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको हो ।
यता भैरहवा स्थित विश्वकर्मा मन्दिरमा पनि विश्वकर्मा पूजा गरिएको छ । रुपन्देहीको सिद्धार्थनगर ४ दोगहरा स्थित मंदिरमा विगतका वर्षहरु जस्तै यस वर्ष पनि आराध्या देव भगवान श्री बिश्वकर्मा बाबाको पूजा आराधाना गरी विश्वकर्मा पूजा गरिएको हो ।
कोरोना महामारीको जोखिम कायम रहेकोले त्यसलाई मध्यनजर गर्दै स्वास्थ्य मापदण्ड र सामाजिक दूरी कायम गरी पूजा गरिएको विश्वकर्मा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राम किसन सेन्चुरीले बताउनु भयो । समितिका सदस्य गणेश बिकको संयोजनमा ६ सदस्यीय समितिले पूजाको व्यवस्थापन गरेको उहाले बताउनु भयो ।
२०२२ सालमा निर्मित उक्त मन्दिर पछिल्लो समय २०४२ सालमा पुनः निर्माण भई मन्दिरको वर्तमान स्वरूप तयार भएको थियो । मन्दिरभित्र भगवान विश्वकर्मा बाबासँगै गणेश, शंकर, पार्वती, दुर्गा, विष्णु भगवानको समेत मूर्ति राखिएको छ । २०४७ सालबाट निरन्तर सामूहिक रुपमा हरेक वर्ष आजकै विश्वकर्मा बाबाको पूजागरिदै आएको मन्दिर व्यवस्थापन समितिका वरिष्ठ सल्लाहकार प्रेम कुमार सेन्चुरीले बताए । कोरोना महामारीले विगत २ वर्ष विधिवत रुपमा गर्न नपाए पनि त्यसअघि ¥याली सहितको कार्यक्रम आयोजना गर्दै आएको उहाले बताउनु भयो ।
भगवानहरुको शिल्पकारको रुपमा मान्यता पाएका विश्वकर्माको पुजाआजा गरियो भने औजार, मेशिन र सवारी साधनहरुमो बढोत्तरी हुने जनविश्वास छ । प्राचीन समयमा स्वर्ग लोक, लंका, द्वारिका, हस्तिनापुरजस्ता स्थानका रचयिता भगवान विश्वकर्मा नै भएको बताइन्छ ।