भैरहवा । लायन्स क्लब अफ भैरहवा डायनमिक टिचर्सले शिक्षामा अनवरत सेवा गर्दै आएका ५१ जना शिक्षकलाई सम्मान गरेको छ ।
४३ औँ अन्तरष्ट्रिय साक्षरता दिवस सन्दर्भ पारेर संस्थाले दीर्घ सेवा शिक्षक सम्मानबाट रुपन्देही क्षेत्रमा ३ दशक बढि अनवरत सेवा गर्दै आएका शिक्षकलाई सम्मानित गरेको हो ।
सामुदायिक तथा संस्थागत विद्यालयबाट शिक्षा क्षेत्रमा अनवरत रुपमा क्रियाशिल रही ३० वर्ष सम्म सेवा गरिरहेका सामुदायिक तर्फ ३५ र संस्थागत तर्फ १६ गरी ५१ जना शिक्षकलाई सम्मान गरिएको लायन्स क्लब अफ भैरहवा डायनमिक टिचर्सकी अध्यक्ष विना भण्डारीले बताउनु भयो । अध्यक्ष भण्डारीले दिवसको अवसरमा पूर्व निर्धारित कार्यक्रम तय भएपनि सो दिन विविध कारणवश गर्न नसकिएकोले संविधान दिवसको अवसर पारेर आयोजना गरिएको बताउनु भयो । उहाले शिक्षकको आबद्धता रहेको संस्थाले आफ्नो पेशालाई सम्मान गर्नुपर्छ भन्ने अभिप्रायसाथ कार्यक्रम गर्ने सोच बनाएको बताउनु भयो ।
सिद्धार्थनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख चेतनशील लम्सालको प्रमुख आतिथ्यता, शिक्षा शाखा अधिकृत जाहन्वी पाण्डे, लायन्स क्लब अफ ३२५ बी टुका दितिय भिडिजी नवराज न्यौपाने लगायतको आतिथ्यतामा शिक्षकहरुलाई सम्मानित गरिएको हो । सो अवसरमा बोल्दै अतिथीहरुले शिक्षकको हौसला बढाउने काम राज्य र सरकाराले गर्नु पर्नेमा यस्को सुरुवात डायनमिक टिचर्सले गरेर जिम्मेबार बोध गराएको बताउनु भयो ।

कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्दै क्लबकी डाइरेक्टर सीता भट्टराईले आफु जलेर अरुलाई ज्योति दिने मैनबत्ती सरह शिइाक पेशा भएकोले सम्मानको हकदार सबै शिक्षक रहेको बताउनु भयो । कार्यक्रममा सम्मानित शिक्षकहरुबाट गणेश प्रसाद भट्टराई, महेश भुर्तेल, टीकराम भट्टराई, देवी प्रसाद न्यौपाने, सुष्मा श्रेष्ठ लगायतले बोल्दै सम्मानले पेशाप्रति बोध गराउदै थप जिम्मेवारी दिएको बताउनु भयो ।
कार्यक्रममा विभिन्न विधामा उत्कृष्ठता हासिल गरेका क्लबका सदस्य परिवारको छोराछोरी तर्फ एमबीबीएसमा पूर्ण छात्रवृति निकाल्न सफल एलिशा तिवारी, उत्कृष्ट नृत्य प्रस्तुत गर्ने अविरला बस्नेतलाई पनि सम्मान गरिएको थियो ।
क्लबका सदस्य तीर्था अर्यालको स्वागत, सचिव शोभा काफ्लेको संचालनमामा भएको कार्यक्रममा अतिथीहरु लायन्स ३२५ बी २ का डेपुटी सेक्रेटरी विजय पाण्डे, सामुदायिक विद्यालय व्यवस्थापन समिति सिद्धार्थनगरका अध्यक्ष अध्यक्ष सुशील गुरुङ लगायतले सम्मानित सबैलाई शुभकामना तथा बधाई दिएका थिए ।