भैरहवा । कृषि उपजको उत्पादन तथा बजारीकरण गर्ने कम्पनीका रुपमा खाद्य बैंक स्थापना भएको छ ।
‘पोषिलो आहारका लागि दिगो कृषि उत्पादन हाम्रो अभियान’ भन्ने नाराका साथ निजी क्षेत्रको २ अर्बको लगानीमा राष्ट्रिय खाद्य बैंकको स्थापना भएको हो ।
कृषि क्षेत्रलाई आवश्यक पर्ने ज्ञान, सिप, बिउबिजन तथा मलजलको समुचित व्यवस्थापन , उत्पादित बस्तु सरकारले तोकेको मूल्यमा कम्पनि मार्फत खरिद विक्री गर्ने तथा देश भरका किसानहरु बैकमा जोडेर व्यवासयिक आयआर्जन बृद्धि गर्न बैकको स्थापना गरिएको राष्ट्रिय खाद्य बैंक लिमिटेडका अध्यक्ष शंकरनाथ उप्रेतीले बताउनु भयो ।
बैंकले ७७ वटै जिल्ला र ७५३ वटै स्थानीय तहमा उपस्थिति जनाउँदै पाइलट प्रोजेक्टका रुपमा सुरुवात गरी र सम्भावना हेरेर सोहीअनुसार उत्पादन गर्ने छ । सबै स्थानीय तहमा सम्भाव्यता अध्ययन र त्यसैको आधारमा कृषि उत्पादनमा जोड्ने, कृषिको उर्वरभूमि नेपालको अर्बौ कृषि जन्य उत्पादन आयतलाई प्रतिस्थापन गर्ने लक्ष्य रहेको अध्यक्ष उप्रेतीले बताउनु भयो ।
एक वर्ष अघि स्थापना भएको बैंकमा हामीसँग अहिले २५० भन्दा बढी कृषिविज्ञ, बैज्ञानिक र दक्षता हासिल गरेका जमातहरुको सहभागिता रहेको छ । अर्गानिक कृषि उत्पादनलाई प्राथमिकता दिदै बैंकले कृषि क्षेत्रमा लगानी, रोजगारी बढाएर उत्पादनमा वृद्धि गर्ने, कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउने उद्देश्य बैंकको छ । जथाभावी प्रयोग हुने गरेको विषादी र मलले बिगारेको माटोलाई पुनारावस्थामा ल्याई अर्गानिक उत्पादनको क्रमिकरूपमा प्रयास गरिने छ ।
बैंकले देशका बिभिन्न क्षेत्रमा रहेको सरकारी जग्गा, सामुदायिक बनका खाली जग्गा,गुठी, व्यक्तिका जग्गा लिजमा लिएर उत्पादन गर्ने समेत अध्यक्ष उप्रेतीले बताउनु भयो । बैंकको पहिलो प्राथमिकता अन्नबाली र दोस्रो चरणमा माछा, मासु, फलफूल, दुध, गेडागुडी, हरियो तरकारी, चिया, जडिबुटी लगायतको उत्पादन तथा व्यवस्थापन गर्नेे छ । रैथाने जातको संरक्षण गर्दै थोरै ठाउँमा धेरै उत्पादन दिने गरी कृषिमा आधुनिकीकरण र प्रविधिकरण गर्ने छ । बैंकले देशभरको किसानहरूसँग सहकार्य गरी गर्ने उद्देश्य लिएको बैंकले कृषि कम्पनीहरू, कृषि सहकारीहरू, कृषि समूहहरू, कृषिसँग सम्बन्धित अन्य संघसंस्थाहरूसँग पनि सहकार्य गरी अघि बढ्ने लक्ष्य लिएको अध्यक्ष उप्रेतीको भनाइ छ ।

हाल बैंकले विभिन्न जिल्लामा जग्गा लिजमा लिएर उत्पादन सुरु गरेको छ, कृषिमा बाहिरीदै गएको पैसालाई रोक्ने गरी प्रारम्भिक प्लान थालिसकेको छ । हालसम्म ७ सय १३ जना प्रमोटर सदस्य रहेको बैंकले अझै विस्तार गर्दै सरकारी मापदण्ड पुरा गरी केही समयमै साधारण सेयर (आइपीओ) जारी गर्ने तयारी गरेको छ ।
हाल बैंकले सबै क्षेत्रमा कार्यलय स्थापना गर्दै बैकमार्फत कृषिमा आब्द्ध हुने सबैलाई जोड्ने काम गरिरहेको छ । रुपन्देहीका लागि अमित पाठकलाई सम्पर्क प्रतिनिधी चयन गरेर कामको थालनी गरिएको छ ।
बेरोजगारी अन्त्य गरी अर्गानिक उत्पादनलाई प्रोत्साहन गर्ने, कृषिलाई औद्योगिकीरण गर्ने, बैंकमार्फत काम गर्दा बिचौलिया अन्त्य हुने र आफ्नो खेतीमा आफैँ बाली लगाउने वातावरण बनाउनका लागि बैंकको स्थापना भएको छ । किसानहरुको उत्पादन बैंकले खरिद गरी भण्डारण, प्रशोधन गरी सिधै उपभोक्तासँग बिक्री बितरण गर्ने छ ।
स्थानीयस्तर किसानहरुलाई बैकमा संगठित गरी उत्पादनमा सघाउने जस्को सुरुवात हामीले धान खेतीबाट गरेका छौ । कृषकलाई व्यवसायिक रुपमा जोड्दै आयआर्जन बृद्धि गर्न (राइस डक फार्मिङ) धान सँगसगै धान भित्र हास खेतीको रुपमा बर्दिया र झापामा व्यवसायिक रुपमा सुरवात गरिसकेको बैकले जानकारी दिएको छ ।
कृषि पेशालाई मर्यादित र सम्मानित बनाएर राष्ट्रिय उत्पादन बढाउँदै देशलाई आत्मनिर्भर बनाउने कार्यमा बैंक लाग्ने छ ।