भैरहवा । जिल्लाको शान्ति सुरक्षा, सुशासन र सेवा प्रवाहमा सुधार आफ्नो पहिलो प्राथमिकता रहेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताउनु भएको छ ।
भर्खरै मात्र सरुवा भई रुपन्देही जिल्लाको कार्यभार सम्हाल्नु भएका प्रजिअ तिवारीले पत्रकारसंगको परिचयात्मक कार्यक्रमका अवसरमा बुधबार सो कुरा बताउनु भएको हो ।
कैलालीदेखि झापा लगायतका आठ जिल्लामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पुरा गर्दै संचार तथा सुचना प्रविधि मन्त्रालयमा दुई वर्ष प्रवक्ताको रुपमा रहेकोले पत्रकार तथा संचारकर्मीसंगको समन्वयात्मक भुमिका राम्रो हुने उहांले विश्वास व्यक्त गर्नुभयो ।
सो अवसरमा पत्रकार माधव ढुंगाना, सम्झना शर्मा, नरेश केशी, सलमान खान, कृष्ण ढकाल,रवि पन्त लगायतले जिल्लामा बजार अनुगमनलाई प्रवाभकारी बनाउन विभिन्न सुझाव दिए ।
प्रजिअसंग जनताको सहज पहुंचको वातावरण बनाउनु पर्ने, सिमामा निगरानी बढाउनुका साथै आफ्ना नागरिकको आवतजावतलाई व्यवस्थित बनाउनु पर्ने, राष्ट्रियताको सवालमा गम्भिर बन्नु पर्ने, गैर पत्रकारहरुले प्रेसको दुरुपयोग गरिरहेकोप्रति छानविन गर्नुपर्ने र शान्ति सुरक्षाको भरपर्दो वातावरण बनाउनु पर्ने सुझाव दिएका थिए ।
जवाफमा प्रजिअ तिवारीले संचारकर्मी, विभिन्न संघसंस्था तथा आम नागरिकसंगको छलफल र सुझावको आधारमा पारदर्शी रुपमा प्रशासनका सेवा अगाडि बढाउने प्रतिवद्धता जनाउनु भयो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बजार अनुगमनलाई प्रवावकारी बनाउन आफुहरु लागि परेको बताउनु भयो । तत्कालिन प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्गको सरुवा भएसंगै रुपन्देहीमा ऋषिराम तिवारी आउनु भएको हो ।