भैरहवा । उद्योग व्यापार संगठन रुपन्देहीको १४ औँ वर्षिक साधारण सभा तथा ७ औँ अधिवेशनबाट अनिल कुमार ज्ञवाली अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन ।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा दर्पण श्रेष्ठ, उद्योग उपाध्यक्षमा रामचन्द्र रेग्मी, वाणिज्य उपाध्यक्षमा कृष्ण बहादुर गुरुङ, महासचिवमा सचिन रोक्का, कोषाध्यक्षमा राम मिलन यादव, सचिवमा टिकाराम भट्टराई, सहकोषाध्यषमा मधुसुधन अर्याल सर्वसम्मत निर्वाचित भएका छन ।
कार्यसमिति सदस्य तर्फ एशोसियटमा सुरेन्द्र कुमार त्रिपाठी, उद्योग सदस्यमा सुरेन्द्र पाण्डे, प्रभु यादव, लक्षमण भण्डारी, महिला सदस्यमा विन्दु न्यौपाने, माया शर्मा खनाल, वाणिज्य सदस्यमा धीरज कुमार मल्लीक, गौतम कुमार गुप्ता, राम प्रसाद सापकोटा, भोला क्षेत्री, मिनिता क्षेत्री, कृष्ण पाण्डे, विष्णु उपाध्याय र प्रकाश प्रसाद श्रेष्ठ सर्वसम्मत रुपमा चयन भएका छन । २९ सदस्यीय कार्यसमितिमा अध्यक्षले ३ जना, कार्यसमितिले ३ जना मनोनित गर्ने छन भने निवर्तमान अध्यक्ष पदेन सदस्यको रुपमा कार्यसमितिमा रहने छन ।

अहिलेको सरकारसँग धेरै ठूलो आशा गर्ने स्थिती छैनः पूर्व अर्थमन्त्री
पूर्व अर्थमन्त्री विष्णु पौडेलले अहिलेको सरकारसँग धेरै ठूलो आशा गर्ने स्थिती नरहेको बताएका छन । जुन सरकारले २ महिनासम्म सरकार पूर्णता दिन सक्दैन त्यो सरकारबाट आशाको अपेक्षा नरहेको उनले बताए ।

उद्योग व्यापार संगठन रुपन्देहीको १४ औँ वर्षिक साधारण सभा तथा ७ औँ अधिवेशनलाई सम्बोधन गर्दै नेकपा एमालेका उपमहासचिव समेत रहेका पौडेलले सरकार विस्तारको काम दल विभाजन सम्बन्धी अध्यादेशले रोकिएको बताउदै सरकारमा सहभागी भएका दलहरु पनि फुट्ने भएकोले अहिलेको सरकार विस्तार हुन नसकेको बताए ।
अध्यादेश फिर्ता नभई सरकार गठन गरे सरकारमा सहभागी दलहरु पनि बिभाजित हुने अवश्था आउन भएकोले अध्यादेश फिर्ता भए मात्र मन्त्रीको नाम दिने सहभागी दलहरुकै शर्त रहेको उनले बताए ।
कार्यक्रममा बोल्दै विशिष्ट अतिथी प्रतिनिधी सभा सदस्य प्रमोद यादवले उद्योगी व्यवसायीहरुको हकहितमा संगठन लागेको बताउदै गर्न नसकिने कुराहरु बोल्न नहुने बताए । लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले जनतालाई भ्रममा राखेर सफल हुन नसकिने बताउदै भ्रम छर्नु भन्दा गर्न सक्ने कामको मात्र चर्चा गर्नु पर्ने बताए । उनले राज्यले औद्योगिक सुरक्षाको प्रत्याभुति गर्नुपर्ने बताए ।
नेपाल चेम्बर अफ कमर्शका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका अध्यक्ष टंक पोखरेल, बुटवल उपमहानगरपालिका मेयर शिवराज सुवेदी, सिद्धार्थनगर नगरपालिकाका मेयर हरि प्रसाद अधिकारी, संगठनकी सल्लाहकार ज्ञानु पौडेल लगायतले संगठन उद्योगी व्यवसायीको हकहीतमा सधैव साथ रहेको र यसलाई निरनतरता दिदै संगठनले धेरै महत्वपूर्ण काम गरेको बताए । संगठनले निजि क्षेत्रको हक, सुरक्षा अधिकार, लगानीमा सुरक्षा, निजि क्षेत्र मैत्री कानुन लगायतमा पैरवी गर्दै आएको, उत्पादनमा आत्मनिर्भर बन्नुपर्ने, कोभिड र राजनीतिक अस्थिरताले निजी क्षेत्र प्रभावित बनेकोले सुधार गर्न सबै लाग्नु पर्ने, सम्भावना नै सम्भावना भए पनि फाइदा लिन हामी नसकेको ए उनीहरुले बताए ।

संगठनका अध्यक्ष नारायण प्रसाद भण्डारीले सभामा उद्योगी व्यसायीको समस्या र संगठनले गरेको काम कारवाहीबारे जानकारी गराएका थिए । उनले उद्योग व्यवसाय लगानीमैत्री वातावरणमा उद्योगी व्यवसायीहरुलाई दर्ता प्रक्रिया झण्झटिलो भइकाले दर्ता प्रक्रियामा एकद्वार प्रणाली लागू गर्नुपर्ने बताए ।
संगठनका वाणिज्य उपाध्यक्ष दर्पण श्रेष्ठको स्वागत, निवर्तमान अध्यक्ष खिम बहादुर खत्रीको धन्यवाद तथा महासचिव अनिल कुमार ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
सो अवसरमा संगठनको नवनिर्मित भवनको पनि पूर्व मन्त्री पौडेलले उद्घाटन गरेका छन । २ कठ्ठा १० धुरमा करिब ४ करोडको लागतमा निर्मित ३ तल्ले भवनमा सभाहल, पदाधिकारी कक्ष, सचिवालय, बैठक कक्ष लगायतका अत्याधुनिक संरचना छन । २०६३ सालमा स्थापित संगठनमा ३ हजार २ सय ब्यवासायी आवद्ध रहेका छन् ।