भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भदौ महिनामा उत्कृष्ट कार्य सम्पादन गरेका इन्सपेक्टर सहित तीन प्रहरी युनिट इन्चार्जलाई सम्मान सहित पुरस्कृत गरेको छ ।
कार्यालय प्रमुख प्रहरी उपरिक्षक मनोज केसीको कार्ययोजना बमोजिम जिल्लामा कार्यरत प्रहरीहरु मध्ये प्रत्येक महिना उत्कृष्ट कार्य गर्ने प्रहरी युनिट इन्चार्जहरुलाई प्रोत्साहन स्वरुप पुरस्कृत र सम्मानित गरिएकोे हो ।
उच्च इन्टीग्रिटी अंक प्राप्तको आधारमा भदौ महिनाको इन्टीग्रिटी इन्चार्ज अफ द मन्थको रुपमा ईलाका प्रहरी कार्यालय सालझण्डी, रुपन्देहीमा कार्यरत प्रहरी निरीक्षक दिवाकर रिजाल, ईलाका प्रहरी कार्यालय धकधई, रुपन्देहीमा कार्यरत प्रहरी नायव निरीक्षक हरिनारायण श्रेष्ठ र प्रहरी चौकी पिप्रहवा, रुपन्देहीमा कार्यरत प्रहरी सहायक निरीक्षक राजेन्द्र रावललाई बेष्ट इन्टीग्रिटी इन्चार्जबाट सम्मानीत गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्य नारयण थापाले जानकारी दिनु भयो ।
जिल्ला प्रहरी कार्यालयले दिएको जिम्मेवारी कुशलतापूर्वक एवम् प्रशंसनीय ढङ्गबाट सम्पादन गर्दै फरार अपराधी पक्राउ, नागरिक सूचना कार्ड, अवैध सामान बरामद, लागु औषध नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण तथा प्रतिकार्यको निश्चित आधारमा उच्च अंक प्राप्त गरी जिल्ला प्रहरी कार्यालय रुपन्देहीको लक्ष्य प्राप्तीमा महत्वपूर्ण योगदान गरेकोले उनीहरुलाई पुरस्कृत गरिएको हो ।
आफ्नो मातहत प्रहरी कर्मचारीहरुलाई समेत गैह्र ब्यवसायीक गतिबिधिहरु नियन्त्रण गर्दै उच्च नैतिक आचरणमा रही उल्लेखनीय भूमिका निर्वाह गरेकोले निजहरुको सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै साथै अन्य प्रहरी कर्मचारीहरुलाई समेत प्रोत्साहित गर्न सम्मान तथा अभिलेखमा जनिने गरि नगद पुरस्कार प्रदान गरीदै आएको छ ।
इन्चार्ज प्रहरीको आचारण, भष्ट्राचारमा संलग्नता , मातहतमा भ्रष्टाचार नियन्त्रणको भुमिका, इन्चार्जको मातहत भएको कामको जानकारी वा सूचनाको अपडेट लगायत ९ वटा सुचकांकको आधारमा सबै भन्दा बढि अंक पाउनेलाई योे सम्मान अवार्ड प्रदान गर्ने गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक मनोज केसीले बताउनु भयो ।
रुपन्देही आए देखि निरन्तर प्रत्येक महिना पुरस्कृत र सम्मान भइरहेका र यसलाई निरन्तरता दिइदै आएको एसपी केसीको भनाई छ । जिल्लामा १३ वटा प्रहरी निरिक्षक र प्रहरी नायब उपरिक्षकको कमाण्डमा इलाका प्रहरी कार्यालय र सई असईको कमाण्डमा रहेको ४६ वटा प्रहरी चौकी रहेको छ ।