Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

नमुना माध्यमिक विद्यालयकाे नवगठित विद्यालय व्यवस्थापन समितिलाई स्वागत, सम्मान


  • लुम्बिनी चिन्तन
  • आश्विन १२, २०७८ मंगलवार
  • 706
    SHARES

नमुना माध्यमिक विद्यालयकाे नवगठित विद्यालय व्यवस्थापन समितिलाई स्वागत, सम्मान

भैरहवा । भैरहवा नमुना माध्यमिक विद्यालय सिद्धार्थनगर–५, रुपन्देहीको नवगठित विद्यालय व्यवस्थापन समितिलाई मंगलबार स्वागत, सम्मान तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । आनन्द प्रसाद गुप्ताको अध्यक्षतामा गठन भएको व्यवस्थापन समितिलाई विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच सम्मान गरिएको हो ।

समितिका अध्यक्ष गुप्तासहित सदस्य प्रेमराज भुसाल, सरिता सोनी र रबिन्द्र प्रताप गुप्तालाई सम्मान गरिएको विद्यालयले जनाएको छ । कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुप्ताले व्यवस्थापन समिति नहुँदा विद्यालयलाई धेरै कठिनाइ भएको बताए । उनले शैक्षिक गुणस्तर, अनुशासनलाई ध्यान दिनुपर्नेमा जोड दिए । ‘विद्यार्थीहरुको पठनपाठन अवरोध हुन भएन, विद्यार्थीलाई कक्षाकोठामा राखेर मात्र हुँदैन उनीहरुलाई अनुशासित र पढाईमा केन्द्रीत गराउनुपर्छ, यो कार्यका लागि विद्यालय व्यवस्थापन समितिको निर्णय चाहिदैन, ’गुप्ताले भने ।

विद्यालयका सहायक प्राचार्य कमल नेपालले व्यवस्थापन समिति नहुँदा विद्यालयका विभिन्न कार्यक्रमहरु रोकिएको बताउँदै अब समिति गठन भएसंगै रोकिएका कार्यक्रम सुचारु हुने विश्वास व्यक्त गरे । उनले विद्यालयमा रिक्त पदपूर्तिहरु गर्नुपर्ने बताए । विद्यालयले अत्यन्तै न्यून शुल्कमा अध्यापन गराउँदै आएको बताए । नयाँ व्यवस्थापन समितिले प्रभावकारी रुपमा काम गर्ने र विद्यालयको अझ राम्रो बनाउनेतर्फ लाग्ने विश्वास व्यक्त गरे ।

विद्यालयका शिक्षक ओमप्रकाश विश्वकर्माले फर्निचरको अभाव भएकाले प्रत्येक कक्षाकोठामा फर्निचरको व्यवस्था हुनुपर्ने बताए । उनले विद्यार्थीको मनोबल बढाउन सके त्यसले सकारात्मक परिणाम ल्याउने बताए ।

शिक्षक कमला ज्ञवालीले बाँकी रहेको शिक्षक प्रतिनिधिलाई समावेश गरेर नयाँ व्यवस्थापन समितिले छिटो भन्दा छिटो पूर्णता पाउनुपर्ने बताइन् । उनले सबैलाई समान रुपमा व्यवहार गर्नुपर्ने भन्दै समितिलाई शिक्षकको साथ र सहयोग रहने बताइन् । विद्यालय व्यवस्थापन समितिका सदस्य सचिव तथा प्राचार्य चुन्न प्रसाद पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार