भैरहवा । भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको शुक्रबारको खेल बुटवल ११ ले जितेको छ ।
रुपन्देही क्रिकेट संघको आयोजनामा सिद्धार्थ रंगशालामा भएको डिभिजन ए अन्तर्गतको खेलमा बुटवल राइनोजलाई ११४ रनले हराउदै बुटवल ११ ले खेल जितेको हो ।
टस हारेर सुरुवाती व्याटिङ पाएको बुटवल ११ले निर्धारित ५० ओभरको खेलमा ३२ दशमलव १ ओभरमा सबै विकेट गुमाउदै १९९ रन बनाएको थियो । जसका लागि इशान पाण्डेले सार्वधिक ८३ रन, प्रकाश केसीले ६५ रन बनाए पनि अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन । बलिङ तर्फ राइनोजका शुभम घमालले ६, असलम अलि र अर्विन सारुले समान २–२ विकेट लिए ।
जवाफी ब्याटिङमा २०० रनको लक्ष्य पाएको राइनोजले २५ दशमलव ४ ओभरमा सबै विकेट गुमाउदै लक्ष्यमा पुग्न सकेन । ८५ रन बनाएर हार व्योहेरेको राइनोज डिभिजन बी मा घटुवा भएको छ । राइनोजका सन्नी श्रेष्ठले १३, शुभम घमालले १२ र अब्दुल नसिमले ११ रन बनाए । बलिङ तर्फ बुटवल ११ का इशान पाण्डेले ३, तौसिफ आलम र एजाज आलमले २–२ , देबेन्द्र सोमारे, सुधन श्रेष्ठ र सोनु तामाङले १–१ विकेट लिए ।

शुक्रबारको खेलमा इशान पाण्डे म्यान अफ द म्याचबाट पुरस्कृत भए । फागुन २९ गतेसम्म चल्ने प्रतियोगितामा जिल्ला भित्रका ए डिभिजनका ८ र डिभिजन बी बाट ए मा आएका ४ टिम गरी १२ टीम बीच प्रतिस्पर्धा भइरहेको छ । सोमाबर डिभिजन ‘ए’ का बुद्ध क्रिकेट क्लब र बुटवल ११ बीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जनाए ।
प्रतियोगितालाई नेपाल टेलिकमले मुख्य प्रायोजन, विके ज्वेलर्स र सगरमाथा इन्स्योरेन्सले सहप्रायोजन गरेको छ । प्रतियोगिताको विजेताले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५÷५ हजार रुपैयाँ प्रदान गरिने छ । प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने छ ।