भैरहवा । भैरहवा स्थित शहीद स्मृति पुस्तकालयले पुरस्कार घोसणा गरेको छ । पुस्तकालयले आफ्नो वार्षिकोत्सवमा सपर्पण गर्ने गरी स्थापना भएका पुरस्कारहरु घोसणा गरिएको हो ।
वर्ष २०७८ कालागि गठित मूल्याङ्कन समितिको सिफारिसमा साहित्य, शिक्षा , स्वास्थ्य, समाजसेवा, कृषि तथा सदाचार जागरणका क्षेत्रमा गरी १२ वटा पुरस्कारहरु प्रदान गर्ने निर्णय भएको शहीद स्मृति पुस्तकालयका अध्यक्ष वनमाली निराकारले बताउनु भयो ।
पुरस्कृत हुनेहरुमा ‘शहीद स्मृति सदाचार जागरण पुरस्कार’ भरत जङ्गम, काठमाडौंलाई प्रदान गरिनेछ । समाजसेवी दीर्घराज काफ्लेले स्थापना गर्नु भएको ४५००० धनराशीको उक्त पुरस्कार भ्रष्टाचार र सुशासनका का निम्ति आवाज उठाउनलाई प्रदान गरिदै आएको छ , यस वर्ष अभियन्ता जङ्गमलाई सिफारिस गरिएको छ ।
त्यस्तै डा. गोविन्दबल्लभ भट्टले स्थापना गर्नुभएको १८००० धनराशी रहेको ‘सरस्वती दशरथ भट्ट स्मृति पुरस्कार’ शिक्षातर्फ शशि पन्थी गुल्मी र स्वास्थ्य तर्फ यादवसिंह कार्की पाल्पा लाई समर्पण गरिनेछ । वनमाली निराकारद्वारा स्थापित १११११ धनराशीको ‘नेत्रशोभा स्मृति साहित्यिक पुरस्कार’ साहित्यकार महानन्द ढकाल कोहलपुर बाँके लाई समर्पण गरिने छ ।
त्यस्तै घनश्याम गौतमद्वारा स्थापित ७००० धनराशीको ‘रामकला बुद्धनाथ गौतम स्मृति पुरस्कार’’ भैरहवाका युवा समाज सेवी मङ्गल भन्डारीलाई समर्पण गरिनेछ । योगनाथ आचार्यद्वारा स्थापित ११५५५ धनराशीको ‘कालिका जगन्नाथ प्रतिभा पुरस्कार संस्कृतिविद् प्रा.डा. गितु गिरीलाई समर्पण गरिने छ । परशुराम पराजुलीद्वारा छन्दमा कविता लेख्ने एकजना कविलाई पुरस्कृत गर्न स्थापित १०५०५ धनराशीको ‘गङ्गादेवी नरनारायण स्मृति प्रतिभा पुरस्कार’ मङ्गलापुर रुपन्देहीका कवि रमेश समर्थनलाई समर्पण गरिनेछ ।
अधिवक्ता तुल्सीराम ढकालद्वारा स्थापित ३००० धनराशीको ‘विश्राम ढकालस्मृति पुरस्कार’ बुटवलकि नवोदित गायिका रुपा रौतारलाई समर्पण गरिनेछ । रामेश्वर मण्डलद्वारा स्थापित ७००० धनराशीको ‘सजिया दरबारी मण्डल स्मृति कृषि पुरस्कार’ भैरहवाका कृषि उद्यमी आशा गुरुङ्गलाई पुस्तकालयको २०औं वार्षिकोत्सव कार्तिक २४गतेका दिन एक समारोहमा प्रदान गरिने अध्यक्ष निराकारले बताउनु भयो ।