Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

काेराेनाले निराश भएका नेपालीलाई दशैंले बढायाे चहलपहल


  • लुम्बिनी चिन्तन
  • आश्विन १९, २०७८ मंगलवार
  • 1.1K
    SHARES

काेराेनाले निराश भएका नेपालीलाई दशैंले बढायाे चहलपहल

२ वर्षदेखि काेराेना जाेखिमले निराश बनेका नेपालीहरू यस वर्ष हर्षित छन ।  अघिल्लो वर्ष कोरोनाको कारण राम्रोसँग दशैं मनाउन नपाएका नेपालीलाई अहिले भने असाेज महिनाकै सुरूवात बाट दशैंका याेजनामा लागिसकेको छ । उद्याेगी व्यवसायीले विभन्न स्कीम अफर ल्याएर दशै अफर ल्याएका छन भने फेन्सी पसलदेखि फुटपाथमा पनि उत्तिकै भीड छ । 

कोरोना सङ्क्रमण घटेसँगै बजारमा चहलपहल बढेको छ ।  पहिलेका वर्षहरुमा अलि ढिलो गरी देखिने दशैंको चहलपहल यस वर्ष छिटो देखिएको छ । दशैंकै लागि बैंकहरुले नयाँ नोट साट्न थालिसकेका छन् । खाद्य संस्थाले सहुलियत पसल सञ्चालन गरेको छ । गाडीको अग्रिम टिकट बुकिङ पनि खुलिसकेको छ । 

दशैंको छेको पारेर विभिन्न निजी व्यापारिक कम्पनीहरुले पनि छुट तथा उपहार घोषणा गरेका छन् । दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे गाडी कम्पनी, मोबाइल कम्पनी लगायत अन्य घरायसी सामान उत्पादकहरुले विभिन्न छुट तथा उपहार लिएर आएका छन् । 

दशैंमा नयाँ नोट दक्षिणाका रुपमा आदानप्रदान गर्ने चलन छ । यसका लागि नेपाल राष्ट्र बैंकले नयाँ नोट वितरण गर्ने गर्छ । गएको वर्ष कोरोनाका कारण राष्ट्र बैंकले नयाँ नोट वितरण गरेको थिएन । अहिले भने कोरोना सङ्क्रमण कम भएसँगै राष्ट्र बैंकले नयाँ नोट वितरण थालेको हो । 

असोज ४ गतेदेखिनै नयाँ नोट वितरण सुरु भैसकेको छ । प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ नोट वितरण गरिएको राष्ट्र बैंकले जनाएको छ ।  राष्ट्र बैंकका क्षेत्रीय कार्यालय तथा अरु बैंकहरुबाट समेत नयाँ नोट वितरण गरिने भएकोले यसवर्ष पहिले जस्तो भीडभाड देखिएको छैन । पहिले पहिले नयाँ नोट लिन राष्ट्र बैंक अगाडि रातभरसमेत लाइन लाग्नुपर्ने बाध्यता थियो ।

सरकारले यस वर्षको दशैंका लागि घर जानेका लागि अग्रिम टिकट बुकिङ खुला गरेको छ । टिकट बुकिङ खुला गरिएसँगै नयाँ बसपार्कमा टिकट लिने यात्रुको चाप देखिन थालेको छ । अग्रिम टिकट बुकिङका लागि बसपार्कमा ११ वटा टिकट काउण्टर थप गरिएको छ । भने ३२ वटा काउण्टरबाट नियमित टिकट बिक्री हुने गर्छ । 

नयाँ बसपार्कबाहेक चाबहिल, गौशाला, कोटेश्वर, सुन्धारा र कलङ्कीबाट समेत अग्रिम टिकट बुकिङ सुरुवात गरिएको छ । काठमाण्डौ बाहिरबाट आएर विभिन्न काम, पढाइ, जागिर तथा व्यापाररव्यवसाय गरेर बसेकाहरुलाई दशैं मनाउन घर जान सहज होस् भन्नका लागि  अग्रिम टिकट बुकिङको व्यवस्था गर्ने गरिएको छ । अनलाइनबाट पनि बसको टिकट लिन सकिन्छ ।

हरेक वर्षको दशैं झैँ यसपटक नेपाल खाद्य संस्थानले चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । असोज १ गतेदेखि सुरु भएको सुपथ मूल्य पसलमा विशेष गरी दैनिक उपभोग्य खाद्य वस्तुहरु बिक्री गर्ने गरिन्छ । 

सरकारले सुरु गरेको सुपथ मूल्य पसलमा खाद्य सामग्रीहरूमा प्रतिकिलो ५ रुपैयाँदेखि १० रुपैयाँ सम्म छुटको व्यवस्था गरिएको छ । चामल र दालमा प्रतिकिलो ५ रुपैयाँ, खानेतेलमा प्रतिलिटर ५ रुपैयाँ, कर्णालीको सिमी र फापरको दानामा प्रतिकिलो १० रुपैयाँ र जिउँदो खसीबोकामा प्रतिकिलो १० रुपैयाँ छुटको व्यवस्था गरेको छ ।

खाद्यले ३९ जिल्लाको ४३ बिक्री केन्द्रमा सुपथ मूल्य पसल सञ्चालन गरेको छ । जसमा काठमाण्डौ उपत्यका बाहिर बनेपा, विराटनगर, बिर्तामोड, हेटौँडा, नारायणगढ, भैरहवा, बुटवल, नेपालगञ्ज, पोखरा, दाङ, सुर्खेत, धनगढी, महेन्द्रनगर, डडेलधुरालगायत ठाउँबाट बिक्री वितरणको व्यवस्था गरिएको छ ।

दशैंको छेको पारेर मोटरसाइकल कम्पनीहरुले पनि थुप्रै छुट तथा उपहारको अफर लिएर आएका छन् । माेबाइल र अटाेमाेबाइलमा पनि व्यवसाय बढाउन पर्व लक्षित याेजना ल्याएका छन ।  नगद छुट, स्क्र्याच कुपन, बाइक, स्कुटरदेखि विदेश भ्रमणसम्मका योजना अगाडि सारेका छन् । 

 


लुम्बिनी चिन्तन

थप समाचार