Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

पहिलो चरणको काम पूरा, असार मसान्त सम्म सकिने


  • लुम्बिनी चिन्तन
  • आश्विन २०, २०७८ बुधवार
  • 1.3K
    SHARES

पहिलो चरणको काम पूरा,  असार मसान्त सम्म सकिने

भैरहवा । २०७५ वैशाख १७ गते बुद्ध जयन्तिको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारी, केपी शर्मा ओली र  स्व.रवीन्द्र अधिकारीले संयुक्त रुपमा शिलान्यास गरेकाे अन्तर्राष्ट्रिय ध्यान केन्द्र निर्माणकार्य यतिबेला अन्तिम चरणमा छ । 

ध्यान केन्द्रको पहिलो चरणको काम पूरा भइ दोस्रो चरणको काम ५५ प्रतिशत पूरा भइसकेको छ । आउँदो असार मसान्त सम्ममा दोस्रो चरणको पनि निर्माण कार्य पूरा सक्नेगरी काम भइरहेको  छ ।

३८ करोड ५६ लाख रुपैयाँको लागतमा पहिलो चरणको काम ०७६ चैत ५ मा सम्पन्न गर्ने गरी ०७४ चैत ६ मा सम्झौता भएता पनि यसको शिलान्यास बुद्धजयन्तीको अवसरमा पार्दा केही समय पछि २०७५ वैशाख धकेलिएको थियो । यसक्षेत्रको प्रतिष्ठित निर्माण कम्पनी बाबुल निर्माण सेवाले सभाहल निर्माणको जिम्मा पाएको थियो ।

पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी ओलीले लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन, बुद्ध जयन्ति समारोह र हजारौंले एकैसाथ ध्यान गर्न मिल्ने अन्तर्राष्ट्रियस्तरको ध्यान केन्द्र बनाउने घोषणा गरेका थिए । उनकाे केही वर्ष अघिको घोषणा अनुरुपको ध्यान केन्द्रको निर्माणकार्य यतिबेला अन्तिम चरणमा पुगेको छ ।

आगामी २०८० को बुद्ध जयन्ति मनाउनेगरी निर्माण कार्य सक्न निर्माण कम्पनीलाई निर्देशन छ । ध्यान केन्द्र जहाँ एकैसाथ आठ हजार जनाभन्दा धेरैले ध्यान गर्न मिल्नेछ । ध्यानकेन्द्रको संरचना निर्माण पूरा भएर शौन्दर्यकरणको काम चलिरहेको लुम्बिनी विकास काेषले जानकारी दिएकाे छ । 

विश्वका बौद्ध धर्म मान्ने देश मात्र नभएर अरु पश्चिमा मुलुकका अध्येता तथा अनुसन्धानकर्ताका लागि पनि आकर्षक गन्तव्य बनाउने गरी सभाहल बनिरहेको लुम्बिनी विकास कोषका उपाध्यक्ष शाक्यपुत्र भिक्षू मेत्तेयाले बताए । लुम्बिनी पर्यावरणको हिसाबले, शान्तिको हिसाबले, जलचरको हिसाबले, जैविक विविधताको हिसाबले र संसारभर शान्ति छर्ने मुहानको हिसाबले पवित्र भूमि रहेको उल्लेख गर्दै उनले सोहीअनुरुपका निर्माण कार्य चलिरहेको बताए । यद्यपि कतिपय संरक्षणविद्हरुले भने लुम्बिनीमा कंक्रिटका संरचना ज्यादा बनाउन नहुनेमा सचेत बनाउँदै आएका छन् ।

सभाहलको भित्री साजसज्जा, बाहिर पानीको फोहोरालगायतका काम दोस्रो चरणमा छन। यस्तै दोस्रो चरणमै करिब एक सयवटा बुद्ध प्रतिमासहितको कलात्मक बाउण्ड्री, भित्री बाहिरी साजसज्जा, हरियाली, वाटर फाउन्टेन र एक किमी सडक निर्माणलगायतका काम धमाधम भइरहेका छन् ।

कोरोना कहरमा केही समय अबरुद्ध भएको निर्माण कार्य अहिले जारी छ । विकास कोषका योजना प्रमुख सरोज भट्टाराईले आउँदो २०८० को बुद्ध जयन्ति समारोह नयाँ हलमै गर्नेगरी निर्माण कार्य चलिरहेको बताए । उनले निर्माण कम्पनीलाई आवश्यक पर्ने सहयोग उपलब्ध हुने बताउँदै तोकिएको समयमै निर्माण सक्ने गरी जनशक्ति परिचालन गर्न निर्देशन दिइएको बताए । आगामी असार मसान्त सम्म ध्यान केन्द्रको निर्माण कार्य सकिनेगरी सम्झौता भएको इन्जिनियर भट्टराईले बताए ।

दैनिक एक सय ८० देखि दुई सय जनासम्म कामदार लगाएर विभिन्न सिफ्टमा निर्माण कार्य गरिरहेको निर्माण कम्पनीका प्रबन्ध निर्देशक सफिकअहमद खानले जानकारी दिए । उनले निर्माण कार्य करिब ५५ प्रतिशत पूरा भएको र तोकिएको समयमै पूरा हुने बताए । दोस्रो चरणको काम आउँदो असार मसान्तसम्म सक्ने सम्झौता छ ।

ध्यानकेन्द्र अर्थात् सभाहलका संरचना त्यहाँ प्रवेश गरेपछि नै शान्तिको आभास हुनेगरी डिजाइन गरिएको छ । यहाँ परिसरमै प्रवेश गरेपछि शान्तिको प्रतीक अथवा पोजेटिभ भाइब्रेशन हुने सोंचका संरचनाको डिजाइन गरिएको छ । सकारात्मक सोंचको प्रतीकको चिनोको रुपमा यसको साजसज्जा र डिजाइन गरिएको कोषका योजना प्रमुख इन्जिनियर भट्टराईको दाबी छ । ध्यान गर्दा आनन्दको अनुभूति प्रदान होस् भनी ध्यानकेन्द्रको छानो गोलाकार रुफ इलिभेसन इलिप्टिकल आकारमा डिजाइनमा निर्माण गरिएको छ । यहाँ प्रयोग भएका सामग्री अन्तर्राष्ट्रिय क्षेत्रमा अब्बल मानिएका कम्पनीबाट समेत ल्याइएको बताइएको छ ।

हलमा ध्यान गर्नका लागि प्रत्येक व्यक्तिको लागि एक वर्ग मिटरको क्षेत्रफल राखिएको छ, जसमा एउटा ब्लकमा चारजना मानिस बस्ने सक्ने गरी बनाउने व्यवस्था मिलाइएको छ । आवतजावतका लागि दुई मिटर चौडाई भएको ठाउँबाट भित्र–बाहिर गर्न सक्ने गरी तयार हुनेछ भने फ्लोरमा सेतो रंगको माजाइक र चार इन्चको सेतो मार्बलले सिमाङ्गकन गरिएको छ ।

वातानुकूलित सभाहलको बीचको माथिको भागमा आकर्षक कमलको फुल बनाइएको छ । सभाहलमा प्रवचन, भजन, भाषण जुनसुकै कुनाबाट पनि स्पष्ट सन्न सकिने किसिमले अत्याधुनिक स्पीकरको व्यवस्था, कार्यक्रमको प्रत्यक्ष प्रसारणका लागि भिडियो स्क्रीन तथा पर्याप्त लाइटको व्यवस्था गरिएको हुनेछ ।


लुम्बिनी चिन्तन

थप समाचार